देशभरका नासुहरू आज बिदामा

काठमाडौं । सरकारले असमान तलब वृद्धि गरेको भन्दै देशभर विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बासरहका कर्मचारी आज एक दिन विरोध बिदामा बस्ने भएका छन्।

तलबमा गरिएको असमान वृद्धिको विरोध र संघीय निजामती सेवा ऐनको मस्यौदामा आफ्ना माग समेट्न माग गर्दै सोमबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले मंगलबार भने क्याबी बिदामा बस्ने निर्णय गरेको नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले जानकारी दिए।

नायब सुब्बाहरूले सुब्बाबाट शाखा अधिकृतमा बढुवा हुन आन्तरिक प्रतिस्पर्धातर्फ कोटा हटाएकोमा विरोधमा उत्रिँदै आएका उनीहरूले संघीय निजामती सेवा ऐनको मस्यौदामा बढुवाका लागि आन्तरिक प्रतिस्पर्धाको कोटा राख्न माग गर्दै आएका छन्। देशभरका विभिन्न सरकारी कार्यालयमा झन्डै २० हजार नायब सुब्बा कार्यरत छन्।

नायब सुब्बाहरूले उठाएको मागबारे सरकारको ध्यानाकर्षण गराउन प्रमुख ५ दलसँग निकट राष्ट्रिय स्तरका टे«ड युनियनका पदाधिकारीले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका अनुसार युनियनका पदाधिकारीसँगको भेटपछि अर्थमन्त्री शर्माले नयाँ तलबमानको प्रस्ताव लागु नगर्ने प्रतिबद्धता जनाएका छन्।

साथै कर्मचारीको तबल पुनरवलोकन गर्न चाँडै एउटा पे कमिसन गठन हुने र उक्त कमिसनको आधारमा नयाँ तलबमान कायम हुने शर्माले जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *