काठमाडौँ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आज बेइजिङस्थित चीनको परराष्ट्र मन्त्रालयमा आफ्नो ओहोदाको प्रमाणपत्रकाे प्रतिलिपी बुझाएका छन् । राजदूत श्रेष्ठले परराष्ट्र मन्त्रालयका महानिर्देशक होंग ललाई आफ्नो ओहोदाको प्रमाणपत्रकाे प्रतिलिपी बुझाएको बेइजिंगस्थित नेपाली राजदूताबासले जनाएको छ ।
तीन साताअगाडि काठमाडौँबाट चीनको छन्तु पुगेपछि १० दिनको क्वारेन्टाइन बसेर उनी बेइजिंगस्थित नेपाली राजदूताबास पुगेका थिए ।
राष्ट्रपति सी चिनफिङसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्न लामो समय कुर्नुपर्ने भएकोले त्यसअघि परराष्ट्र मन्त्रालयमा प्रतिलिपी पेश गरेर राजदूतले कार्यभार ग्रहण गर्ने चलन छ । यसअघिका राजदूत महेन्द्रबहादुर पाण्डेले पनि कार्यभार सम्हालेको ९ महिनापछि मात्रै राष्ट्रपति सीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नियुक्त भएको लामो समय राजदूत पाण्डे नेपालमै अडकिएका थिए । बेइजिङ पुगेपछि अनलाइनमार्फत ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्रमन्त्रालयमा पेश गरेर उनले कार्यभार सम्हालका थिए ।
प्रतिलिपी बुझाएसँगै राजदूत श्रेष्ठ परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वको चीन भ्रमणमा जान लागेको नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन आजै बेइजिङबाट सानतोङ प्रान्तको छिङताओ जाने बताइएको छ ।
चिनियाँ समकक्षी वाङ्ग यीको निमन्त्रणामा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै राति काठमाडौँबाट प्रस्थान गर्दैछन् । प्रतिनिधिमण्डलमा बेइजिङस्थित नेपाली राजदूताबासबाट राजदूत श्रेष्ठसहित नियोग उपप्रमुख कौशल राय पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
