काठमाडौँ । आइतबारदेखि प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।
संघीय संसद् सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।
बैठकमा गत फागुन २९ गते सांसद देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ।
जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।
प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन ।
महाभियोग लगाएर प्रधानन्यायाधीश जबरालाई निमल्बनमा राखेको भन्दै एमालेले विरोध गर्दै आएको थियो ।
त्यस्तै, नेपाल बार एसोसिएसनले पनि न्यायालयको प्रमुखमाथि महाभियोग लगाएर निलम्बनमा राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।