फोर्स कमाण्डरद्वारा नेपाली शान्ति सैनिकलाई सम्मानस्वरुप कदरपत्र प्रदान

काठमाडौं । सेन्टर अफ्रिकन रिपब्लिकमा परिचालित शान्ति सेनाका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल डानिइल सिद्धिकी ट्राओरेले चूनौतिपूर्ण परिस्थितिमा नेपाली शान्ति सैनिकले प्रदर्शन गरेको साहस उत्कृष्ट भनी प्रशंसा गरेका छन् ।

प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा बटुकदल गणले गत फागुन, जेठ र भदौमा हतियारधारी समूहविरुद्ध सञ्चालन गरेको कारवाहीको सन्दर्भ उल्लेख गर्दै फोर्स कमाण्डर ट्राओरेले जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्न नेपाली शान्ति सैनिकले निर्वाह गरेको भूमिका सह्रानीय रहेको बताएका छन् ।

उक्त मिशनमा तैनाथ नेपाली शान्ति सैनिकले अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटिल एवं चूनौतिपूर्ण परिस्थितिमा पुर्याएको समष्टिगत अतुलनीय योगदानको कदर गर्दै फोर्स कमाण्डरले सम्मानस्वरुप कदरपत्र प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उक्त गणले सञ्चालन गरेको कारवाहीमा मुख्य नेतासहित ९ विद्रोहीलाई हातहतियारसहित पक्राउ गरेको थियो ।

विद्रोहीलाई पक्राउ गरेपछि उक्त क्षेत्रमा जातीय हिँसा नियन्त्रणमा आएपछि उक्त उपलब्धीको स्थानीय, सरकारी निकाय र मिसन मुख्यालयले प्रशंसा गरेको थियो । कदरपत्र प्रदान गर्दै फोर्स कमाण्डर ट्राओरेले भनेका छन्, “जीउज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पणले पेशागत दक्षता प्रर्दशीत गर्छ । यसबाट द्वन्द्वग्रस्त मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न मद्दत पुग्ने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *