शेखर पक्षलाई किचकिच नगर्न देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यक परे पार्टी विधान संशोधन गरेर फेरि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने बताएका छन्।

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न नसकेको भन्दै शेखर कोइराला पक्षले आलोचना गरिरहेका बेला देउवाले यस्तो बताएका हुन्। कांग्रेस विधानले निरन्तर दुई कार्यकालभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलसँग तालमेल गर्ने तयारीमा रहेका देउवा शेखर पक्षको आलोचनाबाट रुष्ट बनेका छन्। देउवाले कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याएर योग्य व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको तर गुटगत कुरा गरेर किचकिच नगर्न कोइराला पक्षलाई आग्रह गरेका छन्।

‘विधानले पनि दिँदैन, म अब फेरि सभापतिमा उठ्ने होइन भनिरहेको छु,’ बुधबार बसेको केन्द्रीय समिति बैठकमा देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मलाई धेरै नजिस्क्याउनुस् तपाईंहरू, राम्रो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छोड्न चाहन्छु। तर यस्तै गरिरहनुभयो भने विधान संशोधन गरेर फेरि पनि सभापति हुन सक्छु।’

देउवाले शेखर पक्षलाई लक्षित गर्दै भने, ‘मलाई धेरै नजिस्क्याउनुस्, यस्तै गरिरहनुभयो भने विधान संशोधन गरेर फेरि पनि सभापति हुन सक्छु।’

सभापति देउवाभन्दा अघि धारणा राखेका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर निर्वाचन जिते पनि पार्टीको सिद्धान्त र आदर्शले हारेको धारणा राखेका थिए। गौतम कोइरालानिकट केन्द्रीय सदस्य हुन्। उनले पार्टीभित्रको ४० प्रतिशत मतको नेतृत्व गरेको कोइराला पक्षलाई सभापति देउवाले बेवास्ता गरेको र पार्टी कार्यालयमा कार्यकक्षसमेत नदिएको भन्दै आलोचना गरेका थिए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *