लन्डन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिवार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
