पीसीआर मेसिनसहित ६ करोडका उपकरण स्टोरमा थन्क्याएर महामारीमा बिपन्न बिरामीमाथि खेलवाड गर्दै निजामति अस्पताल

काठमाडौँ । संघीय संसदको मुखैमा रहेको निजामती कर्मचारी अस्पतालले करोडौँ रुपैयाँ खर्च गरेर ल्याएको पिसिआर मेसिनसहित अन्य सामग्री स्टोरमा थन्क्याएर बिरामीमाथि खेलवाड गरेको छ । नेपाल सरकारका मुख्यसचिव नै सञ्चालक समिति अध्यक्ष रहेको अस्पतालमा करोडौँका सामग्री महिनौँदेखि थन्किएका हुन् ।

‘थर्मोफिसर साइन्टिफिक’ नामक कम्पनीको पिसिआर मेसिन दुई महिनादेखि अस्पतालको ल्याबमा टेबलमुनि अलपत्र अवस्थामा राखिएको छ । एकातिर भोकै–प्यासै झरीमा रुझेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा सर्वसाधारण लाइन लागेर दुई दिन पर्खिँदा पनि पिसिआर जाँचका लागि पालो पाइरहेका छैनन् भने अर्काेतिर निजामित अस्पतालले दुई करोड रुपियाँ खर्च गरेर ल्याएको मेसिनको कार्टुनसमेत नखोली राखिएको छ  । अरू सामान पनि ल्याबमा छरपस्ट पारिएका छन्  ।

अस्पताल प्रशासनको लापर्वाही देखेर त्यहाँका कर्मचारीसमेत निराश बनेका छन् । एक स्वास्थ्यकर्मीले भने, ‘भिटिएम, रिएजेन्टजस्ता सबै संसाधन छन् । सम्पूर्ण तयारी पुगेको छ, करिब दुई करोड खर्च भएको छ, तर किन हो कुन्नि, कोरोना परीक्षण गर्न व्यवस्थापनले इच्छा गरेको छैन ।’

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा दीर्घराज आरसीले ल्याब नभएका कारण परीक्षण गर्न नसकिएको बताए । उनले भने, ‘मेसिन छ, तर ल्याब तयार भएको छैन । तयार भएपछि परीक्षण सुरु हुन्छ ।’
अस्पतालको ल्याबमा कार्यरत प्राविधिक भने पिसिआर जाँचका लागि अहिलेकै ल्याब पर्याप्त हुने बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने ‘हामीसँग ल्याबदेखि सबै सामान छन्, पिसिआरका लागि छुट्टै ल्याब नै चाहिँदैन, पहिल्यैदेखि प्रयोगमा नरहेका ल्याब प्रयोग गर्न सकिन्छ ।’

अस्पतालले पिसिआर मात्र होइन, अन्य उपकरण पनि थन्क्याएको छ । अस्पतालले अगिल्लो वर्षको असरमै दुई करोड ९३ लाख रुपैयाँमा खरिद गरेको घुँडा प्रत्यारोपण गर्ने मेसिन पनि प्रयोग नगरी स्टोरमा थन्क्याएको छ । अस्पतालका कार्यकारी निर्देशक आरसी आफैँ पनि हाड जोर्नी र घुँडासम्बन्धी विज्ञ चिकित्सक भए पनि त्यसको लागि उनले बिरामीले निजी अस्पतालमा रिफर गर्ने गरेका छन् ।

अस्पतालले ७१ लाख रुपियाँमा खरिद गरेका क्यान्सर पत्ता लगाउने आधुनिक उपकरण, करिब १७ लाखमा खरिद गरेको मिर्गौला रोगीको रगत सफा मेसिन, ४५ लाखमा खरिद गरिएको वंशाणुगत रोग पत्ता लगाउने मेसिन अहिलेसम्म प्रयोगमा आएको छैन । उपकरण स्टोरमा थन्क्याएर सरकारी अस्पतालले बिपन्न बिरामीमाथि शोषण गरेको अस्पतालका एक कर्मचारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *