बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादीको हस्ताक्षर संकलन

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि हस्ताक्षर संकलन सुरु भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा भएको सहमति अनुसार पद नछोडेपछि उनीविरुद्ध नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

गठबन्धनमा आधा कार्यकाल पाण्डे र आधा कार्यकाल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर पाण्डेले सहमतिअनुसार मुख्यमन्त्री पद नछोड्ने बताएपछि उनीविरुद्ध काङ्ग्रेस र माओवादीले हस्ताक्षर नै सङ्कलन गरेका हुन् ।

पाण्डे गत कात्तिक ११ गते सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका थिए । आगामी आर्थिक वर्षको बजेट पास भएपछि काङ्ग्रेसलाई सत्ता सुम्पिने लिखित सहमति गरेका उनले पछिल्लो समय सार्वजनिक रुपमै सरकार परिवर्तन नहुने बताउँदै आएका थिए ।

उनी ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई माओवादीको २३, काङ्ग्रेसको २२, एकीकृत समाजवादीको १३ र जनता समाजवादी पार्टी (जसपा)को एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि पाण्डेले भने केन्द्रीय नेतृत्वको निर्देशनपश्चात मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर संकलन गरिएको हो बजेट पास भएछि सबै प्रक्रिया अघि बढ्ने गरी हस्ताक्षर सङ्कलन गरिएको कांग्रेस नेताहरुले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *