अस्ट्रेलियाको तास्मानिया द्वीपमा ठूलो सङ्ख्यामा ह्वेलहरू समुद्री तटमा आएर अलपत्र परेको उद्धारकर्ताहरूले बताएका छन् । सोमबारयता उक्त द्वीपको पश्चिमी तटमा झन्डै ४७० वटा ह्वेल फेला परेका छन् । अहिले देखा परेको नयाँ समूहमा भएका २०० मध्ये अधिकांश ह्वेल मरिसकेको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार उद्धारकर्ताहरूले थोरै पानी भएको ठाउँमा अलपत्र परेका ह्वेललाई जोगाउन सङ्घर्ष गरिरहेका छन् । पहिला फेला परेको समूहका २५ वटा ह्वेललाई मङ्गलवार उद्धार गरिएको थियो । तर तीमध्ये केहीलाई छालले फेरि तटतिर ल्याइदिएको अधिकारीहरूले बताएका छन् ।
एउटा सरकारी निकायका अधिकारी निक डेकाले मृत ह्वेलको सङ्ख्या बढेकोमा आफूहरू निराश भएको तर बुधवार उद्धारकर्ताहरूले अरू ह्वेललाई सुरक्षित स्थानतिर पठाउने आशा गरिएको बताएका छन् । हेलिकप्टरबाट मङ्गलवार पहिलो स्थानबाट १० किलोमिटर पर ह्वेलको अर्को समूह देखिएको थियो । ती सबै ह्वेल एउटै बथानको भएको अनुमान गरिएको छ । पहिलो समूहमा भएका कम्तीमा ९० वटा ह्वेल मरिसकेका छन् ।
ती ह्वेलहरू किन त्यहाँ पुगे भन्ने कुरा स्पष्ट हुन सकेको छैन । तर वैज्ञानिकहरूका अनुसार पाइलट ह्वेलहरूमा बलियो सामाजिक सम्बन्ध हुन्छ । यो प्रजातिको ह्वेलको आकार सानो हुन्छ र प्रायः समुद्री तटमा पुग्छ । एउटा वयस्क पाइलट ह्वेल सात मिटर लामो र तीन टन गह्रुङ्गो हुनसक्छ । अस्ट्रेलियन एन्टार्कटिक डिभिजनले अहिले अलपत्र परेका ह्वेलको सङ्ख्या सर्वाधिक हो कि हैन भनेर अभिलेखको अध्ययन गरिरहेको जनाएको छ ।
तास्मानियामा यसअघि सन् १९३५ मा २९४ वटा र सन् २००९ मा २०० वटा पाइलट ह्वेल फसेका थिए । अस्ट्रेलियामा त्यसरी ह्वेल अलपत्र पर्दा ८० प्रतिशतभन्दा बढी घटना तास्मानियामा हुन्छ । वैज्ञानिकहरूका अनुसार उद्धार कार्य केही दिनसम्म चल्नेछ । यो क्षेत्रमा ह्वेलहरू तटीय क्षेत्रमा पुग्नुलाई सामान्य रूपमा हेरिन्छ। तर ठूला आकारका ह्वेलहरू भने तटीय क्षेत्रमा धेरै दशकमा पहिलो पटक देखिएको हो ।
तालिमप्राप्त ४० उद्धारकर्ताको एउटा टोलीले विभिन्न उपकरणको सहयोगले मङ्गलवार बिहान केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पुर्याउन सुरु गरेका थिए । ह्वेलहरू पानीमा सहज रूपमा चल्न थालेपछि अन्ततः तिनलाई सुरक्षित स्थानमा पठाइने उनीहरूको भनाइ छ । छालका कारण उक्त कार्य चुनौतीपूर्ण हुन जाने जीवविज्ञ डाक्रिस क्यार्लीअनले सञ्चारकर्मीहरूलाई बताए ।
ती ह्वेललाई चलायमान बनाउन डुङ्गाहरूको प्रयोग गर्नुपर्ने हुनसक्ने बताइएको छ । तर उनका अनुसार धेरै ह्वेल निकै ठूलो वा असहज स्थानमा फसेका हुनसक्छन् । यसअघिका उद्धारकार्यको अनुभवका आधारमा पाइलट ह्वेल तीनदेखि चार दिनसम्म बाँच्न सक्ने थाहा भएको उनले बताए । अस्ट्रेलिया र न्यूजील्यान्ड वरपर विभिन्न प्रजातिका ह्वेलहरू मौसमका कारण बसाइँ सर्छन् ।
त्यसो गर्दा एउटा बथानमा एक हजार वटासम्म ह्वेल हुन्छन् । अनुसन्धानकर्ताहरूका अनुसार उनीहरू एउटा नेतालाई पछ्याउँछन् जसले गर्दा पूरा समूह नै तटमा पुग्ने सम्भावना रहन्छ । न्यूजील्यान्डमा सन् २०१८ मा यस्तै घटनामा परेर एक हप्ताको समयमा २०० भन्दा बढी ह्वेलको मृत्यु भएको थियो ।
