मतदातालाई आश र त्रास देखाउँदै प्रधानमन्त्री पत्नी आरजु

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी आरजु राणा यतिबेला चुनाव प्रचारका क्रममा सुदूरपश्चिम प्रदेशमा छिन् । उनी गृहजिल्ला डडेल्धुरालगायतका क्षेत्रमा चुनावी अभियानमा जुटेकी छन् । मतदातालाई आश र त्रासपूर्ण अभिव्यक्ति दिएर यतिबेला प्रधानमन्त्री पत्नी आरजु चर्चामा छिन् । गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा आरजुले मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने धम्की दिइन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । उनले कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गर्दै भनिन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं ? यो कुरा ध्यान दिएर करूवा सरूवा… पार्टीलाई भोट नहाल्नुस्।’ कांग्रेस बिपीको चुनाव चिह्न करूवा हो । कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ। मल्ललाई कांग्रेसले कारबाही गरेको छ। मल्ल पक्षले कांग्रेस बिपीको चिह्न लिएर एमालेसँग चुनावी तालमेल गरेका छन् ।

बजेट त सरकारको ढुकुटीबाट खर्च गर्ने हो । तर उनको अभिव्यक्ति सुन्दा लाग्थ्यो कि आफ्नै खाताबाट पठाउने जस्तो ।
आरजुले ’कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको अपमान भएको भन्दै हरिशप्रसाद अवस्थीले निर्वाचन आयोगमा उजुरी पनि दिएका छन् । उजुरी परेपछि यस्ता अभिव्यक्ति नदिनुपर्नेमा शुक्रबार आरजुले धनगढीमा आयोजित चुनावी प्रचारप्रसारका क्रममा निःशुल्क मेलसिया लैजाने अर्को योजना सार्वजनिक गरेकी छन् ।
आयोगमा उजुरी परेपनि आयोगले आरजुलाई स्पष्टीकरण सोध्ने आँट पक्कै गर्नेछैन । प्रधानमन्त्री र मन्त्रीहरु चुनावीसभामा जाँदा आयोग मौन बसेकोबाट पनि त्यो कुरा स्पष्ट हुन्छ ।

शुक्रबार धनगढीको एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै आरजुले ५÷६ जना युवालाई निःशुल्क मलेसिया पठाइदिने बताएकी हुन् । चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो वडामा दुःख पाएर पढ्न नपाएका कसैका छोराछोरी भए १÷२ जनालाई मैले पढाउने कोसिस गर्छु र त्यस्तै मलेसिया जानलाई कसैले मलाइ कोटा दिन्छु भनेको छ। धेरैलाई त हामी सक्दैनौँ। त्यसको पनि केही मापदण्ड हुन्छ। तर निर्वाचन सकिएपछि यो वडाबाट केही न केही मान्छेलाई रोजगारी दिने बाटोतिर हामी उन्मुख हुन्छौँ।’

लामो समयका लागि भने यहीँ नै रोजगारी सिर्जना हुने खालको काम ल्याउने उनले बताइन् । उनले भनिन्,‘यहीँ नै रोजगारी सिर्जना हुने काम के ल्याउन सकिन्छ। म अहिले यही नै काम ल्याउँछु भनेर त भन्न सक्दिनँ। किनकि अहिले हामीले त्यो तर्फ योजना बनाएका छैनौँ। तर हामीले त्यो तर्फ योजना बनायौँ भने केही न केही काम गर्न सक्छौँ ।’

उनले आफूले भनेको वाचा पूरा गर्ने प्रतिबद्धता समेत जनाइन् । प्रधानमन्त्री देउवा कांग्रेसले राणा शासन अन्त्य गरी जनतालाई रैतीबाट छुटकारा दिलायौं भन्छन् । तर आरजुका अभिव्यक्ति सुन्दा लाग्छ जनतालाई फेरि रैती बनाउने प्रपञ्च हुँदैछ । स्वदेशमै रोजगारी सृजना गरी युवा विदेश पलायत रोक्ने नीति सरकारको छ र नेताहरुका भाषण पनि त्यस्तै सुनिन्छिन् । तर आरजु भने युवालाई विदेश पठाउने आश्वास बाँड्दै हिँडेकी छन् । मतदालाई प्रभावित पार्न आश र त्रासका कुरा गर्ने आरजुलाई तत्काल स्पष्टीकरण सोधेर कारबाही गर निर्वाचन आयोग !

 

 

निर्वाचन आयोग स्वतन्त्र निकाय हो कि सरकारको शाखा कार्यालय ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *