काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । असोज २ गतेको लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक बैठक बोलाइएको हो ।
गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । साथै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो ।
