बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–३ रजाली तरकारी उत्पादन तथा सहकारी भावनाका लागि जिल्लामै चर्चित छ । उक्त वडाले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीलाई ताजा तरकारीमा भरथेग गरेको छ भने वडाबासी आत्मनिर्भर छन् । उक्त वडामा तरकारी खेती तथा सहकारी अभियानका अभियन्तामध्ये एक युवा अमर खड्का यतिबेला नगर परिवर्तनको सपनासहित मेयरको उम्मेदवार बनेका छन् ।
नेकपा एमालेले उहाँलाई सर्वसम्मत उम्मेदवार बनाएको हो । उनलाई उम्मेदवार बनाएपछि जित पक्का जस्तै रहेको नगरबासीहरू बताउन थालेका छन् । उनले नगरबासीलाई पर्दा दिनरात नभनी सेवा गर्नुका साथै आफूले नेतृत्व गरेका सामुदायिक संस्थाहरूलाई सफल बनाएका छन् । त्यसैले यसपल्ट एमाले मात्रै होइन, गैरएमालेहरूले पनि उनलाई सघाइरहेका छन् ।
२०५४ सालतिर बाजुरामा एउटा गैरसरकारी संस्थाले आधुनिक कृषिको अवधारणा ल्याएको थियो । जिल्लाका विभिन्न ठाउँमा यसबारे काम गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउने गाउँमध्ये एक रजाली हो । खड्काका साथै त्यहाँका युवाले सुरुमा युवा क्लबका नाममा र पछि लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका नाममा गाउँलाई आत्मनिर्भर बनाउने अभियान अगाडि बढाए ।
२०५७ सालमा बाजुरामा पहिलो पटक चारवटा सहकारी संस्था स्थापना भएका थिए । त्यसमध्ये एक यही गाउँबाट विस्तार भएको लक्ष्मी ऋण तथा सहकारी संस्था हो । सुरुवाती योजनामै संलग्न खड्का उच्च शिक्षाका लागि काठमाडौं आए । त्यहाँ रहेका युवाले त्यसलाई सञ्चालन गरे । काठमाडौं जानेबुझेका कुरा गाउँ गएका बेला अरूलाई समेत बाँड्ने सिलसिला चलिरह्यो ।
सहकारीले बचत गर्ने बानीको विकास मात्रै होइन, पर्दाखेरि ऋण प्राप्त गर्ने बाटो पहिल्यायो । साथै आत्मनिर्भर बन्नका लागि कृषिलाई अभियानकै रूपमा फैलायो । जसले गर्दा रजाली ‘नमूना गाउँ’ का रूपमा परिचित छ । गाउँ फर्केपछि खड्काले उक्त सहकारीको अध्यक्षका रूपमा १२ वर्ष नेतृत्व गरेका छन् । सहकारीले सुरूमा उत्पादनमा ध्यान दियो । अहिले कृषिलाई बजारसँग जोड्ने प्रयत्न गरिरहेको छ । ‘कोसेली घर’ लगायतका अवधारणा अघि सारेर त्यहाँका उत्पादन जिल्ला बाहिर फैलाउने क्रम पनि जारी छ । उनी यही योगदानका कारण राष्ट्रिय सहकारी बोर्डकै सदस्यसम्म भइसकेका छन् ।
एउटा संस्थाको नेतृत्व सम्हालेर प्राप्त सफलता र अनुभवलाई उनी आफ्नो नगरभरि फैलाउन चाहन्छन् । गाउँलाई बुझेका र लामो समय काठमाडौ लगायतका ठाउँमा बसेर सामाजिक रूपान्तरण र विकासको रफ्तार नियालेका खड्काले आफ्नो प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतमा राखेका छन् । ‘अरू देखाउलान् सपना, हामी राख्दैछौं योजना’ अन्तर्गत उहाँले बडिमालिका नगरपालिकामा गर्न सकिने कामहरू लिपिबद्ध गरेका छन् ।
गाउँ तोकेरै कृषि उत्पादनमा जोड
खड्काले कृषिमा विशेष जोड दिएका छन् । नगरपालिकाको ९० प्रतिशत भन्दा बढीको आयको माध्यम नै कृषि भएकाले त्यसमा जोड दिइएको उनी बताउँछन् । उनले ‘एक गाउँ, एक उत्पादन, कृषि उपजको व्यवस्थापन’, ‘एकीकृत कृषि, व्यावसायिक वृद्धि’, ‘उत्पादन गरौं राम्रो, बेच्ने जिम्मा हाम्रो’ जस्ता नारामा कृषि अभियानलाई अघि बढाउने तयारी गरेको बताए ।
उनले भने, ‘मैले हरेक टोलमा पुगेर आफ्नो तर्फबाट सम्भाव्यता अध्ययन गरेको छु । स्थानीय रूपमा उपलब्ध प्राविधिकहरू समेतलाई सोध्दा रजातोली, जिल्ली, पोखरा, राप्क, जुगाडा, दवाडीपाटा, माथिल्लो कोर्ध, रिला, मना, रजाली, झाल्ले डुंग्री, बागडाँडा, पाँदे, फणिल्ला जस्ता क्षेत्रमा आलु, तरकारी, सुन्तला, चिराईतो, सतुवा, अलैची, अल्लो, भांग्रो, ओखर, दाडिम, केरा, जारिम आदिका पकेट क्षेत्रका रूपमा सम्भाव्यता अध्ययन गरी विकास गर्न सकिने पाएको छु ।’
उनले माछापालन, वाख्रापालन, भैंसीपालन लगायतको सम्भाव्यता रहेका ठाउँमा त्यसलाई जोड दिइने बताए । व्यावसायिक कृषिमा जोड दिँदै गर्दा उत्पादन खेर जाने जोखिम रहन्छ । त्यसका लागि उनको भनाइ छ, ‘उत्पादन गरौं राम्रो, बेच्ने जिम्मा हाम्रो ।’ उहाँले सहकारीमार्फत् त्यसको प्रयोग यसअघि पनि गरिसक्नुभएको छ । विभिन्न गाउँबाट उत्पादन लिएर काठमाडौं लगायतमा बेच्ने कार्यको उहाँले नेतृत्व गर्नुभएको छ ।
बिरामी पर्दा दिदीबहिनी दाजुुभाइ, दुख्ने छ नगरलाई’
स्वास्थ्यलाई लिएर खड्का संवेदनशील देखिन्छन् । उनले ‘बिरामी पर्दा दिदीबहिनी दाजुभाइ, दुख्नेछ नगरलाई’ भनेर नगरबासीको स्वास्थ्यको जिम्मा लिने बताएका छन् । ‘नेपालको संविधानको धारा ३५ ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ,’ उनले भने, ‘आधारभूत स्वास्थ्य सवै नागरिकको मौलिक हक हो, गुणस्तरीय स्वास्थ्य पहुँचमा हुनुका साथै निःशुल्क हुनुपर्छ । त्यो प्रदान गर्नु स्थानीय सरकारको पनि दायित्व हो । अहिले आधारभूत स्वास्थ्य समेत महंगोमा किन्नुपर्ने बाध्यतामा नगरबासी छौं । आर्थिक अभावका कारण रोग पालेर बस्ने वा अकालमै देहत्याग गर्नुपर्ने बाध्यता छ । त्यसकारण कुनै नगरबासी बिरामी पर्दा सेवकीय भूमिकामा रहेको नगरपालिकालाई दुख्नुपर्छ ।’
स्वास्थ्य स्वयंसेविकालाई थप सीपज्ञान सिकाएर नगरले विशेष सुविधा दिनुपर्ने खड्काको मत छ । स्वास्थ्य स्वयंसेविकाका छोराछोरीलाई स्वास्थ्य विषय पढाउन नगरले सघाउनुपर्ने उहाँको भनाइ छ । ‘अनिवार्य स्वास्थ्य बीमा, नसक्नेहरू नगरको जिम्मा’ अवधारणा अन्तर्गत सक्नेहरूले बीमाको प्रिमियम आफैंले तिर्ने भएपनि नसक्नेहरूको नगरपालिकाले जिम्मा लिनुपर्ने बताउँछन् खड्का ।
नियमित टेलिमेडिसिन सेन्टर र विशेषज्ञ डाक्टरलाई बोलाएर नगरबासीको स्वास्थ्यजाँच गराइने उनको योजना छ ।
उच्च शिक्षाका लागि योजना
खड्का एसएसली पास गर्दा २०५४ सालमा बाजुरामा उच्च शिक्षा प्राप्त गर्ने अवसर नै थिएन । कि डोटी पुग्नुपथ्र्यो, कि त धनगढी, काठमाडौं । काठमाडौं आइपुग्न १०५० किलोमिटर यात्रा गर्नुपथ्र्यो । त्यसमा पनि दुई दिन पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । शिक्षामा त्यो समयको तुलनामा अहिले निकै परिवर्तन भएको छ । जिल्लामा स्नातकोत्तरसम्म अध्ययन–अध्यापन हुन्छ । तर, गुणस्तरको कसीमा अझै बाजुरा पछाडि छ । यसलाई मध्यनजर गर्दै खड्काले ‘प्रत्येक वडामा गुणस्तरीय विद्यालय, सुविधासम्पन्न पुस्तकालय’, शिक्षकप्रति श्रद्धा, उघ्रिन्छ ज्ञानको पर्दा’ लगायतका कार्यक्रम ल्याएका छन् । विद्यार्थी–शिक्षकको अनुपात मिलाउने, सामुदायिका स्कुलमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुनेगरी शिक्षक व्यवस्थापन गरिने, एक विद्यालय, एक पुस्तकालयको व्यवस्था गर्ने र व्यवस्थापनमा संलग्न प्रधानाध्यापक र अध्यक्षलाई राम्रा विद्यालय पठाएर अनुभव हासिल गराउनेसम्मका योजना उनीसँग छन् ।
रोजगारीमा जोड
बेरोजगारी राष्ट्रिय समस्या हो । त्यसैमाथि शैक्षिक बेरोजगारीको समस्या अहिले टड्कारो बनेको छ । ‘बन्न सरकारी कर्मचारी, नगरमै लोकसेवा तयारी’ उनले त्यही समस्यालाई केन्द्रमा राखेर अघि सारेका छन् । ‘केही महिनाअघि मात्रै नेपाल सरकारले ४८५ जना शाखा अधिकृत नियुक्त गर्दा बाजुरा शून्य रहेको तीतो यथार्थ हामीमाझ छ,’ खड्काले भने, ‘त्यसैगरी नेपाल प्रहरी अधिकृत, सशस्त्र प्रहरी अधिकृत, नेपाली सेना अधिकृत, नेपाल टेलिकम, विद्युत प्राधिकरण, सरकारी बैंकलगायतमा पनि जिल्लाको उपस्थिति कमजोर देखिन्छ । बडिमालिका नगरपालिकाको पहलमा सरकारी कर्मचारी बन्न चाहने विद्यार्थीलाई नगरमै लोकसेवाको तयारी गर्ने व्यवस्था मिलाइनेछ । नेपाल सरकार, प्रहरी तथा सेनाका अधिकारीहरूको विशेष भ्रमण तथा अनलाइनबाट विशेष कक्षाको व्यवस्था गरिनेछ ।’
श्रम बैंकको स्थापना गरेर युवालाई सीपअनुसारको काममा लगाउने सपना उहाँसँग छ । हरेक गाउँमा सम्भावना रहेको भन्दै स्वरोजगारीमा जोड दिुनपर्ने उनी बताउँछन् । उनको भनाइ छ, ‘नगरपालिकाका विशेष क्षेत्रहरू पहिचान गरी स्थानीय उत्पादनमा जोड दिइने छ । कृषि तथा अन्य सहकारीको माध्यमबाट गाउँ–गाउँमा आर्थिक प्रवद्र्धन गरी युवा रोजगारीका लागि आवश्यक लगानी गरिनेछ ।’
परिवर्तनका लागि रोजेको राजनीति
खड्काको राजनीतिक यात्रा २०४६ सालको आन्दोलनपछिको बहुदलको उदयसँगै सुरू भएको हो । गाउँबाट पढ्नका लागि सदरमुकाम झर्दै थिए । मालिका स्कुलमा नेकपा एमालेको जनवर्गीय संगठन शिक्षक संगठनको चहलपहल देखे । बहुदलको पक्षमा नाराहरू लागेको देखे, सुने । त्यसले राजनीतिमा लाग्न प्रेरित गर्यो ।
काठमाडौंमा तत्कालीन महेन्द्ररत्न क्याम्पस, ताहाचलमा पढ्दा उनी औपचारिक रूपमा एमालेनिकट अनेरास्ववियुको सदस्य भए ।
त्यसपछि जिल्लासँग जोडिएको बाजुरा–काठमाडौं सम्पर्क मञ्चमा खड्काले सदस्य हुँदै अध्यक्ष समेत भएर २०५९ देखि २०६५सम्म काम गरे । उनी सुरुदेखि नै स्वरोजगारीको पक्षमा थिए । पढाइसँगै दृष्टि साप्ताहिकको बजार व्यवस्थापकका रूपमा काम गरे ।
बाजुरालगायत विभिन्न जिल्लामा काम गरिरहेको गैरसरकारी संस्था पिसविनको फन्ड रेजिङ्ग अफिसरको रूपमा काठमाडौंमा काम गरे । सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा विशेष आवाज उठाउन काठमाडौंमा सुदूरपश्चिम साप्ताहिक समेत चलाए ।
गाउँको रुपान्तरणमा प्रत्यक्ष संलग्न हुने उनी गाउँ फर्किएका हुन् । गाउँमा उनी सानै हुँदा स्थापित लक्ष्मी ऋण तथा सहकारी संस्थालाई फैलाउन त्यसको नेतृत्व गरे । र राजनीतिमा एमाले जिल्ला कमिटिमा सदस्यका रूपमा काम गरे ।नवयुगबाट साभार
