च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दै

एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दैछन् । इतिहाद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । अन्तिम १६ मा स्पोर्टिङ लिस्बोन र क्वाटरफाइनलमा एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको सिटी आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । दुई सिजन अगाडि च्याम्पियन्स लिगको नकआउट चरणमै सिटीले म्याड्रिडलाई हराएको थियो ।

सिटीका मुख्य प्रशिक्षक जोसेफ गोर्डिओला म्याड्रिडविरुद्ध ह्याट्रिक गर्ने दाउमा रहेका छन् । २०१०/११ को सिजनमा बार्सिलोनाबाट म्याड्रिडलाई सेमिफाइनलमा समाग्रमा ३-१ गोलले र २०१९/२० मा सिटीबाट ४-२ गोलले पराजित गरेका थिए । यसपटक गोर्डिओला ह्याट्रिक गर्ने लक्ष्यसहित तयारी गरिरहेका छ्न् । हाल प्रिमियर लिगको शिर्ष स्थानमा रहेको सिटीलाई लिभरपुलले कडा प्रतिस्पर्धा दिइरहेको छ ।

यता सर्वाधिक १३ पटकको च्याम्पियन रियल म्याड्रिड आजको खेलमा सिटीमाथि बदला लिन चाहन्छ । २०१९/२० सिजनमा म्याड्रिड सिटीसँग पराजित हुँदै प्रतियोगिताको अन्तिम १६ बाटै घर फर्किएको थियो । अन्तिम १६ मा पेरिस सेन्ट जर्मन(पीएसजी) र क्वाटरफाइनलमा साविक विजेता चेल्सीलाई पन्छाउँदै सेमिफाइनल पुगेको म्याड्रिडलाई सिटीमाथि जीत निकाल्न भने सहज हुनेछैन ।

म्याड्रिडले युरोपेली प्रतियोगितामा सिटीलाई उसैको मैदानमा पराजित गर्न सकेको छैन । चेल्सीलाई क्वाटरफाइनलमा उसैको मैदानमा पराजित गरेपनि म्याड्रिडलाई आजको खेलमा उक्त लयलाई निरन्तरता दिन थप चुनौती रहेको छ । कुनैपनि टोलीले नकआउटमा इङ्लिस टोलीलाई उसैको मैदानमा लगातार दुई खेलमा हराउन सकेका छैनन् । घरेलु लिगको शिर्ष स्थानमा १५ अङ्कको अग्रता लिएको म्याड्रिले लिग जित्ने पक्कापक्कीनै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *