काठमाडौँ । अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
पत्रकार पन्थीका भान्जा आशिष खनालको स्मृतिमा आयोजित कार्यक्रममा ’जिरो माइल’को विमोचन गरिनुका साथै ’आशिष फाउण्डेसन’को उद्घाटनसमेत गरिएको छ । उर्जामन्त्री पम्फा भूषाल, कलाकार सरोज खनाल, गायक यम बराल, लेखक पन्थीलगायतले पुस्तकको संयुक्तरूपमा विमोचन गरेका थिए ।
‘यो आप्रवासी र जिज्ञासुहरूका लागि लेखिएको पुस्तक हो,’ विमोचनपछि पत्रकार पन्थीले भने, ‘जटिल अमेरिकी आप्रवासन नियम र नियमहरू सरल भाषामा प्रस्तुत गरिएको छ ।’
एबिसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल र कर्पाेरेट डटकमकी सम्पादक यशोधा तिमिल्सिनाले पुस्तकको बारेमा चर्चा गरेका थिए । लेखक पन्थी न्यूयोर्कस्थित नेपाली र अंग्रेजी भाषामा प्रकाशित हुने आउटलेट खसोखासका संस्थापक तथा प्रधान सम्पादक हुन् । यसअघि उनको कम्पन प्रकाशित भइसकेको थियो ।
उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिका विषयमा कलम चलाउँछन् । अमेरिकी राज्य विभागद्वारा पहिलो मान्यता प्राप्त नेपाली पत्रकारका रुपमा उनले राष्ट्रपति लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्राप्त गरेका छन् ।
अवार्डमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । पन्थीले हफिङ्गटन पोष्ट, थ्राइभ ग्लोबल, सिटी लिमिटलगायत थुप्रै आउटलेटमा लेख लेखिसकेका छन् । उनले सागरमाथा टेलिभिजन र एबीसी टेलिभिजनमा समाचार वाचक र सम्पादकको रूपमा काम गरेका थिए ।












