बागलुङ । संरक्षण पाएपछि ऐतिहासिक गलकोट कोतघरको मुहार फेरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । आर्थिक वर्ष २०७६/०७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो । नगरपालिकाको आफ्नै पहल र लगानीमा कोतघरले नयाँस्वरुप पाएको हो ।
कोतघरलाई आकर्षक सम्पदास्थलका रुपमा चिनाउने लक्ष्यसहित संरक्षणको काम भइरहेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । उनका अनुसार कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनाइएको छ ।
कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ । ऐतिहासिक र पुरातात्विक महत्व झल्कने गरी कोतघरको जीर्णोद्धार गरिने वडाध्यक्ष भण्डारीले बताए । “डिपिआर तयार भइसकेको छ, सोअनुसारको आर्थिक स्रोत जुट्यो भने जीर्णोद्धारको काम अघि बढ्छ”, उनले भने ।
नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधारको काम भइरहेको बताए । उनले हटिया बजार (मध्यपहाडी पुष्पलाल लोकमार्ग) देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि (डिपिआर) बनेको बताए । “कोतघर संरक्षण र जीर्णोद्धारका लागि सङ्घ सरकारसँग समपूरक बजेट माग गरेका छौँ, प्रदेशमा पनि पहल भइरहेको छ”, नगरप्रमुख गैरेले भने, “नगरपालिकाको आन्तरिक लगानीलाई अब आउने नेतृत्वले पनि निरन्तरता दिने मेरो विश्वास छ ।”
नगरपालिकाले तीन वर्षअघि गौरवको योजनाका रुपमा कोतघरलाई ५० लाख बजेट दिएको थियो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले सम्पदा संरक्षणमा स्थानीयवासीको पनि भूमिका रहने बताए । उनले नगरपालिकाको प्रयासमा सबैले हातेमालो गर्नुपर्ने बताए । अध्यक्ष बस्नेतले कोतघरको जीर्णोद्धार गर्दा त्यसको ऐतिहासिकता र मौलिकता जोगाउनुपर्ने बताए । “कोतघरलाई गन्तव्यस्थल बनाउने हो भने संरचना पनि पर्यटनमैत्री हुनुपर्छ”, उनले भने ।
उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ ।
कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि त्यहाँ छ । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । गलकोट बहुमुखी क्याम्पसका पूर्वप्रमुख कृष्णप्रसाद गौतमका अनुसार पहिले त्यहाँ झिँगटीले छाएको भुइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको उनको भनाइ छ । कोतघर पनि विसं २०४० तिर पुनःनिर्माण गरी ढुङ्गाले छाइएको हो । कोतघरका झ्याल, ढोका भने पुरानै छन् ।
कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति र शिला छन् । कोतघरमा अघिल्लो वर्ष दसैँको नवदुर्गा पारेर ६५ किलोको खुँडा, ५० किलोको तरबार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएको थियो । हेर्दै अजङ्गका लाग्ने ती हातहतियारले पनि कोतघरमा आकर्षण थपेका छन् । कोतघरको महिमा झल्काउन प्रतिकात्मकरुपमा पुरानै स्वरुपका हातहतियार सङ्ग्रह गरिएको हो ।
कोतघरमा वडादसैँ र चैते दसैँमा विशेष पूजा गरिन्छ । विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको थियो । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम ‘गोलकोत’ रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ ।
