प्रज्जवल थापा, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ स्थित निर्माणाधीन ‘एडीएसएल फूटसल एरिना’ संचालनको अन्तिम तयारीमा रहेको छ । झण्डै ५ महिना अगाडि निर्माण कार्य शुरु भएको फुटसलको काम अन्तिम चरणमा पुगेको हो ।
यसअघिनै सम्पन्न भइसक्नु पर्ने फूटसल बीचमा विविध कारण रोकिएपनि निर्माण कार्य अन्तिम चरणको पुगेको संचालक दीपक तिमिल्सिनाले नेपाल समाजलाई बताए । “फुटसलको काम यसअघिनै सक्ने हाम्रो लक्ष्य थियो । तर बीचमा विभिन्न कारणले काम रोकिदा केही समय ढिला भयो ।”, उनले भने ।
निर्माणको काम ९० प्रतिशत सकिसकेको बताउँदै छैट्टै संचालको तयारीमा रहेको तिमिल्सिनाले जोडे । उनले भने, “काम ९० प्रतिशत सकिसकेको छ । अबको १०/१२ दिन भित्रमा फूटसल संचालन गर्नेछौ ।”
फुटसल एरिनामा फ्रि-वाइफाइ, पार्किङ र खेलाडीको लागि चेन्जिङ रुमको सुविधापनि रहनेछ । एरिनामा फूटसलसँगै ब्याडमिन्टन कोर्टपनि बन्नेछ । तर हाललाई भने फुटसलमा केन्द्रित भएकाले ब्याडमिन्टन केहिसमयमा शुरु हुने संचालक तिमिल्सिनाले जानकारी गराए ।
पछिल्लो समय देशका विभिन्न शहरमा फुटसलले लोकप्रियता कमाउँदै जाँदा शुक्लागण्डकी क्षेत्रमापनपनि यस खेल प्रती लगाव बढ्दै गएको छ । धुलाम्मे साना चौरमा फुटबल खेल्दै आएका खेलाडीलाई यस फुटसल एरिनाले राम्रो खेल्ने वातावरण सिर्जना गर्ने अनुमान गरिएको छ । सानो कोर्ट र थोरै खेलाडीबीच खेल्न सकिने भएकालेपनि यसको क्रेज नेपालमा बढेको हो ।
फुटसलको मैदान सानो हुने भएकाले देशमा केटाकेटी देखि लिएर बुढापाकासम्ममा यसको क्रेज उत्तिकैछ । सहरमा बढ्दो जनसंख्या र वस्तीको कारण खुला ठाउँ नभएको अवस्थामा फुटसल व्यायाम गर्न साथीभाइ भेटघाट भइ मनोरञ्जन लिनका लागि राम्रो विकल्प बनेको छ ।
फुटसल भनेको के हो ?
फुटसललाई ‘मिनी फुटबल’ भन्ने गरिन्छ । फुटबल र फुटसल एकै प्रकृतिका खेल भएपनि यसको खेल्ने तरिका र नियम फरक रहेको छ । पहिलो फरक त फुटसल इन्डोरमा खेलिन्छ । फुटबलको तुलमामा यसको मैदान सानो हुन्छ भने खेलाडीको संख्यापनि कम हुन्छ । फूटबलमा एक टिमबाट ११ खेलाडी मैदानमा उत्रिन्छन् भने फुटसलमा गोलकिप्परसहित मात्र ५ खेलाडी हुन्छन् ।
फुटसल २०-२० मिनेट गरि दुई हाफमा ४० मिनेट खेलिन्छ । फूटबलमा बल मैदान बाहिर जाँदा हातले थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक गरिन्छ । फुटसलमा खेलाडी परिवर्तन गर्न कुनै छेकबेर हुँदैन । पेनाल्टी एरिया भित्र फावल गर्ने टोलीले पेनाल्टी बेहोर्नेछ । फूटबलमा जस्तै फुटसलमापनि पहेंलो र रातो कार्ड हुन्छ । तर खेलाडीले रातो कार्ड पाएर मैदान बाहिरिएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउनेछ ।
बल नियन्त्रणमा लिएपछि गोलकिप्परले ५ सेकेन्ड भन्दा बढी होल्ड गर्न पाउँदैन । गोलकिप्परले पेनाल्टी एरिया भित्रमात्र हातले बल समाप्त पाउछन् । फुटसलमा खेलिने बल फूटबल बल भन्दा सानो र कम उफ्रिने हुन्छ ।
फुटसलको इतिहास
फुटसल खेल सन् १९३० मा उरुग्वेबाट शुरु भएको थियो । फुटसल खेल उरुग्वेका जुआन कार्लोस सेरिअनीले शुरु गरेका थिए । फुटसलको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता सन् १९६५ मा भएको थियो भने फिफा विश्वकप सन् १९८९ बाट शुरु भएको थियो ।
तर नेपालमा सन् २०११ बाट फुटसल खेल्न शुरु गरिएको हो । नवाङ लामाले ठमेलमा पहिलोपटक फूटसल शुरुवात गरेका थिए । काठमाडौं उपत्यकाबाट शुरु भएको फुटसलले अहिले नेपालका मुख्य शहरमा लोकप्रियता कमाउँदै गएको छ ।

