डढेलो लाग्नुमा वनको कमजोर व्यवस्थापन जिम्मेवार रहेको ट्रम्पको आरोप

डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी चासोलाई खारेज गर्दै चिसो हुन थाल्ने भनेर अधिकारीहरूलाई जवाफ दिएका छन् । अमेरिकी पश्चिम तटीय क्षेत्रको भ्रमणका क्रममा ट्रम्पले डढेलोका लागि वनको कमजोर व्यवस्थापन जिम्मेवार रहेको क्यालिफोर्नियाका अधिकारीहरूसमक्ष दोहोर्याएका हुन् ।

जलवायु परिवर्तनबारे विज्ञानलाई बेवास्ता नगर्न एक अधिकारीले गरेको आग्रहलाई खारेज गर्दै ट्रम्पले भने, ‘अब चिसो हुन थाल्छ, तपाईँ हेर्दै गर्नुहोस्. मलाई लाग्दैन विज्ञानलाई खासै थाहा छ।’ क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटन राज्यमा डढेलोबाट २० लाख हेक्टर क्षेत्रमा क्षति पुगेको छ भने अगस्ट महिनाको शुरूयता कम्तीमा ३५ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियामा मात्रै १५ अगस्टयता २४ जनाको ज्यान गइसकेको छ । जलवायु परिवर्तनमा विश्वास नगर्ने ट्रम्प कमजोर वन व्यवस्थापनका कारण सङ्कट निम्तिएको बताउँछन् । यसअघि सोमबार डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले ट्रम्पलाई जलवायु परिवर्तनविरुद्ध उत्रिने व्यक्तिको संज्ञा दिएका छन् ।

एउटा कार्यक्रममा बोल्दै उनले अर्को चार वर्ष ट्रम्प ह्वाइट हाउसमा भए अमेरिकाले थप आगलागी झेल्नुपर्ने टिप्पणी गरे । डढेलो नियन्त्रणको दिशामा अरू देशहरूले अमेरिकाले जस्तै काम गर्न नसकेको उनको दाबी छ । त्यसक्रममा ट्रम्पले अस्ट्रेलिया र ब्रजिलका जङ्गलमा लागेका डढेलोहरूका उदाहरण दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *