काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत केहिबेरमा युएईविरुद्ध हुने खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । पपुवा न्युगिनीविरुद्ध भएको खेलमा प्लेइङ ११ मा रहेका विनोद भण्डारीको स्थानमा कमल सिंह एरी सेटमा आएका छन् ।
नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, असिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह एरी, रोहित कुमार पौडेल, असिफ शेख, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, कमल सिंह एरी, सागर ढकाल
आज हुने खेलमा नेपाल सिरिजमा लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । हिजो बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । जीतसँगै नेपाल ९ खेलबाट १० अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।
पपुवा न्युगिनीविरुद्धको खेलमा फेरि एकपटक नेपाली टोलीको ब्याटिङ कमजोर देखिएको थियो । शुरुवाती ४ ब्याट्सम्यानलाई सस्तैमा गुमाएपछि पाँचौ विकेटको लागि अरिफ शेख र रोहित कुमार पौडेलले सतकिय साझेदारी गर्दै नेपाललाई जीततर्फ डोर्याएका थिए । त्यसैले तुलात्मक रुपमा बलियो रहेको घरेलु टोली युएईविरुद्ध जीत निकाल्न नेपालको दुवै ब्याटिङ र बलिङ चल्न जरुरी रहेको छ ।
नेपाललाई आजको खेलमा बदला लिने अवसरपनि रहेको छ । ओमानमा भएको आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना समाप्त भएको थियो । त्यसैले नेपाल आजको खेल जित्दै बदला लिन चाहन्छ ।
यता युएईलेपनि सिरिजको पहिलो खेलमा पीएनजीलाई ७ विकेटले पराजित गरेको थियो । हाल युएई १५ खेलबाट १८ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । युएईले आफ्नो पछिल्लो ५ एकदिवसीय खेल मध्य ३ खेलमा जीत निकाल्दा दुई खेलमा पराजित भएको छ ।
दुई टोलीबीच भएको पछिल्लो ४ भेटमा दुवै टोलीले २/२ खेल जितेका छन् ।
