काठमाडौं । असार १५ गते आज १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । धान दिवस कृषि उत्पादनको लागि सुरूवाती दिनको रूपमा लिने गरिन्छ । मुरी फलाउनका लागि मुठी रोप्ने दिनको रुपमा पनि किसानले मनाउँछन् । तर यसलाई राजनीतिक दलका नेताले हिलो कुल्चिने दिनको रूपमा मनाउने प्रचलन बनिसकेको थियो, गतवर्षसम्म । त्यसले कृषि उत्पादनमा प्रोत्साहन होइन, दलका नेताहरूका लागि यो दिन हिले खेल्ने चाड बनेको थियो । तर यसपाली धान रोप्नका लागि किसानलाई प्रोत्सहन गर्नेमा नेकपा उपाध्यक्ष बामदेव गौतम एक्ला वरिष्ठ नेता बने ।
नेता गौतमले ललितपुर भैसेपाटीस्थित आफ्नै घर नजिकका खेतमा गएर हिलो कुल्चिने काम गरे । श्रीमती तुलसा थापासहित धान रोप्न गएका उनले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राखे । नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहेका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु्र्याउनसक्ने संकेत गर्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्नेसमेत बताए । नेता गौतमले खासखास ठाउँमा नोक्सान पु्र्याउने भए तापनि भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपुर्याउने दाबी गरे ।
कृषि पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल धान दिवसकै अवसरमा त्रियुगा नगरपालिका– १३ बेहर्डवास्थित जनता आधारभूत विद्यालयको प्राङगणमा धान रोपाई महोत्सव भेलालाई सम्बोधन गर्न पुगेका थिए । यद्यपि नेपाली कांग्रेस तथा अन्य दलका ठूला नेता भने यसपटक हिलो कुल्चन गएको खवर याे समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन ।
