काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता घटक मध्येका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले असहयोग गर्ने बताएपछि नेपाली कांग्रेसले प्रमुख विपक्षी नेकपा एमालेसँग छलफल अघि बढायो । एमालेसँग वार्ता गर्न कांग्रेस महामन्त्री गगन थापा बढी नै सक्रिय भएर लागेका थिए ।
वर्तमान गठबन्धन अब अगाडि जान नसक्ने भन्दै महामन्त्री थापाले एमालेसँग गठबन्धन गर्न नेतृत्वलाई यसबारेमा बताएका थिए । उनका सार्वजनिक अभिव्यक्ति पनि त्यस्तै सुनिन्थे । तर एमालेसँग पटक पटकको छलफलले निष्कर्ष पाउन सकेन । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै त्यो माग पूरा गर्न आग्रह गर्दै आएको थियो । तर त्यसैबीचमा फेरि एमसीसी अनुमोदनमा सहयोग गर्ने नाटकीयरुपमा माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्णय गरे । उनीहरुको निर्णयले कांग्रेसलाई एमसीसी अनुमोदनका लागि सहज भयो र संसदबाट एमसीसी अनुमोदन पनि भइसकेको छ ।
संसदबाट एमसीसी अनुमोदन हुने वातावरण बनेपछि र त्यसपछि कांग्रेस महामन्त्री थापा भने कम्युष्टिहरुप्रति कटाक्ष गर्दै अभिव्यक्ति दिनमा व्यस्त देखिन थालेका छन् । थापाले एमसीसीमाथिको छलफलमा भागलिने क्रममा पनि कम्युनिष्ट पार्टीहरुप्रति धेरै कटाक्ष गरे । जुनकुरालाई राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले केटाकेटीको संज्ञा दिए ।
थापाले गिरिजाप्रसाद कोइरालाले माले, मण्डले, मसाले एकै हुन् भनेको कुरालाई पटक पटक दोहोर्याउन थालेका छन् । कोइरालाले एकपटक चुनावी आभसभामा विपक्षीलाई गाली गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएका थिए । जसका कारण कोइरालालाई ठूलै विवादमा ल्यायो । किनकी माले, मण्डले र मसाले एकै हुन् भन्ने र फेरि उनीहरुसँग गठबन्धन गरी कांग्रेसले सरकारको नेतृत्व गरेका भन्दै उनको आलोचना हुने गरेको थियो ।
दुई दिनअघि पोखरामा पार्टीले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले भनेका थिए,‘मालेले पनि यही भन्छ मण्डलेले पनि यही भन्छ । हिजो कुनैबेला गिरिजाबाबुले माले, मण्डले एकै हुन् भनेर भन्नुभएको कुरा त्यसै भनेको होइन । माले, मण्डले, मसाले एकै हुन् भन्नुको कारण के हो भने माले, मण्डले, मसालेको क्यारेक्टर भनेकै उत्तेजनाको राजनीति गर्ने हो । बिस्तारवाद र साम्राज्यवाद परास्त नहुने बेलासम्म हैजा निको हुन्न भन्ने र यो क्यारेक्टर एउटै हो । मान्छेलाई उचाल्नु सबैभन्दा सजिलो हो नि । त्यो उत्तेजनाको राजनीति यति धेरै चरणमा नेपालमा आएको छ ।’
महामन्त्री थापाले यो अभिव्यक्ति शनिबार काठमाडौंमा आयोजित कार्यक्रम र शनिबारै विराटनगरमा आयोजित अर्को कार्यक्रममा पनि दोहोर्याए । थापाले यस्तो अभिव्यक्ति दिइरहँदा तीन वटा कम्युनिष्ट पार्टी गठबन्धनमा आवद्ध भइरहेका छन् । उनीहरुसँग मिलेर नै देउवा प्रधानमन्त्री भएका छन् । कम्युनिष्ट पार्टीसँगै गठबन्धन गर्ने अनि उनीहरुकै विरोध गर्नु विरोधाभास भएन र ?
