पोखरा आइपुग्यो सलह

काठमाडौँ । भारत हुँदै नेपाल पसेको सलह किरा पोखरामा पनि देखा परेको छ । पोखरा महानगरपालिका–१७ महतगौडामा सलह देखा परेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

पोखरामा देखिएको सलह ठूलो नभएकोले आत्तिनु नपर्ने कडरियाले जनाए । उनीसहित महानगरपालिकाको टोलीले स्थलगत अध्ययन गरेपछि कुनै खतरा नरहेको निश्कर्ष निकालेको थियो ।

शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा सलह आएको हल्ला भए पनि आइतबार त्यस क्षेत्रमा सलह भेटिएको प्रमाणित भएको उनको भनाइ छ ।

‘स्थानीयले बिहान सातआठ वटा भेटियो भन्नुभयो, त्यसपछि एउटा समाएर हेर्दा सलह नै रहेछ भन्ने हामीले बुझ्यौँ’, उनले भने, ‘पोखरामा हुल बाँधेर नै आएको त होइन तर एक–दुई वटा देखिए पनि सजग हुनुपर्ने बेला आएको छ ।’

किसानलाई सलह चिनाएर क्षति न्यूनीकरणको लागि सजग बनाउन महानगर लागिपरेको उनले बताए । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि विषादी छर्कनेलगायतका योजना महानगरले बनाइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *