गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँको पेगामा डेढ करोड भन्दा बढीको लागतमा खानेपानी योजना निर्माण भएपछि स्थानीय खुसी भएका छन् । पाँच किलोमिटर टाढाबाट पाउखोला पेगा लिफ्ट खानेपानी योजना निर्माण गरी गाउँमा पानी ल्याइएको हो । योजनाको नेकपा एमालेका सचिव तथा गु्ल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरेका छन् ।
केही पहिलेसम्म गाउँमा दुध मोही भन्दा पिउने पानी पाउन मुस्किल पर्ने स्थितिको स्मरण गर्दै काकाकुल गाउँमा पानीको धारा र काकाकुल दिदीबहिनीको अनुहारमा खुसी देख्न पाउनुनै आफूहरुको उपलब्धि भएको बिष्टले बताए ।
‘चुनावमा भोट माग्दा जनताले सय मिटर पाइप माग्थे । अहिले करोडौंका खानेपानी योजना निर्माण र घरमै धारा खस्ने अवस्था बनाएका छौ,’उनले भने,‘अब योजना व्यवस्थित गरेर पानी खाने काममा उपभोक्ताहरु सजग बन्नुपर्छ ।’
खानेपानी योजना ०७५/०७६ सालमा निर्माण सम्झौता भएर ०७७/०७८ मा सम्पन्न गरिएको थियो । यो खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारको एक करोड ५९ लाख १८ हजार एक सय २५ र स्थानीयको ४६ लाख पाँच हजार नौ सय ८१ रुपैयाँको जनश्रमदान गरेर दुई करोड ५२ लाख चार हजार एक सय छ रुपैयाँको लागतमा निर्माण गरिएको पाउखोला पेगा लिफ्ट खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष तुल्सी बहादुर रायमाझीले जानकारी दिए ।
यो खानेपानी योजनाबाट एक सय ५१ घरमा एक घर एक धारा सन्चालन भएको रायमाझीले बताए ।लुम्बिनी प्रदेश सभा सदस्य खड्ग केसीले जनताका मझौला समस्या प्रदेश सरकारले पुरा गरिरहेको बताए । समन्वय गरेर जनताका साना योजना स्थानीय सरकार, मझौला योजना प्रदेश र ठूला योजनाहरु संघीय सरकारमार्फत संचालन गरे प्रभावकारी हुने खड्काको भनाई छ ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरको चुनौती र चुनावी नारा भएकाले पाँच वर्षमा दुई दर्जन भन्दाबढी साना–ठूला खानेपानी योजना निर्माण गरेर घरघरमा खानेपानीको व्यवस्था गरिएको बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख आदिव हुसैनले उपभोक्ता समिति अध्यक्ष तुल्सी रायमाझीलाई योजना हस्तान्तरण गरे ।
सोही अवसरमा हुसैनले मुसिकोटमा खानेपानीको योजना, योजना कार्यान्वयन र परिणाम निकै उदाहरणीय रहेको बताए । उनले अरु ठाउँमा सरकारका सम्यन्त्र एकातिर र स्थानीय तह अर्कातिर हुँदा प्रभावकारी योजना संचालन र सदुपयोगमा समस्या भएको स्मरण गर्दै आगामी दिनका चुनौतीमा सजग हुन आग्रह गरे ।
मुसिकोट नगरपालिका ३ कि वसन्ती जिसीले बिगतको खानेपानीको समस्या निकै कष्टपूर्ण रहेको बताइन् । उनले घण्टौ पानी बोकेर उर्जाशील उमेर बितेकाले घर छेउमा पानी आउँदा खुसी नहुने कुरै नभएको प्रतिक्रिया दिइन् ।
