काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले फूटपाथ पसल र ठेला व्यापारीहरुका लाटि छुट्टै ठाउँको व्यवस्था गर्न आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र फूटपाथ र ठेला व्यापारीमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएपछि भट्टराईले ट्वीट गर्दै त्यसको विरोध गरेका हुन् ।
उनले लेखेका छन्, ‘यी कसका जनप्रतिनिधि हुन् ? जनताको जीविकोपार्जन र जीवन भन्दा ठूलो कथित शहरी सौन्दर्य हुने यिनको कस्तो अमानवीय दृष्टिकोण हो ? श्रमिक र विपन्न परिवारको लागि न्यूनतम वेतन बराबरको एकीकृत सामाजिक सुरक्षाभत्ता निम्ति यी किन बोल्दैनन् ? बरू फूटपाथ पसल र ठेला व्यापार निम्ति छुट्टै ठाउँ राखौं न !’
महानगरकी उपमेयर हरिप्रभा खड्कीले ज्ञापन पत्र बुझाउदै फुटपाथ पसल तथा ठेला व्यापारका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै यस्तो व्यापारमा पूर्ण प्रतिवन्ध लगाउनुपर्ने माग गरेकी हुन् ।
यस प्रकारको व्यापारमा सहभागी हुनेहरुको स्वास्थ्य सुरक्षाका उपायहरुको अवलम्वन गर्न सक्ने न्युन सम्भावना रहेको र सो को प्रभावकारी अनुगमन गर्न समेत समस्या हुने ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै त्यस्ता व्यापारीहरुमा संक्रमण देखिएका प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ समेत गर्न नसकिने तथा फुटपाथ तथा ठेला व्यापारलाई नियन्त्रण गर्ने महानगरपालीकाको नीति गरेको उपप्रमुख खड्कीले जानकारी दिइन् ।

