आफ्नै तीन व्यापार साझेदारको हत्या आरोपी सार्वजनिक

विराटनगर । तीन जनाको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी मोरङ प्रहरीले सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौँको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो ।

यीमध्ये मण्डल मुख्य आरोपी र बाँकी दुई उनका सहयोगी रहेको प्रहरीले जनाएको छ । मण्डलले आफ्नै व्यापार साझेदारहरू राजेन्द्रकुमार श्रेष्ठ, शम्भुकुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा र लिम्बुको शव ललितपुरको ठेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा बरामद गरिएको थियो । माघ १२ र १३ गते मोरङले धनपालथान गाउँपालिका वडा नम्बर ७ बस्ने दिलिप सिंहको उखुबारीमा चौधरी र श्रेष्ठको शव भेटिएको थियो। शवसँग भेटिएको कागजपत्रको आधारमा उनीहरुको पहिचानसँगै सम्पर्कमा रहेका मानिसहरुको पहिचान खुलेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङले महानगरीय अपराध महाशाखाको टोलीसँग संयुक्त अनुसन्धान चलाएको थियो। त्यसक्रममा काठमाडौंबाट अनिल मण्डललाई पक्राउ गर्न सफल भएको थियो ।

अनिल मण्डलसँगको बयान र अन्य पाटोबाट अनुसन्धान गर्दै जाँदा ललितपुरको गोदावारी नगरपालिका १२ मा बिहीवार गाडीएको अवस्थामा मोहनप्रसाद लिम्बुको शव फेला पारेको थियो। करिब पाँच फिट गहिरो खाल्डो खनेर त्यसमाथि माटो हालि सिमेन्टले ढलान गरेर शव पुरिएको अवस्थामा फेला पारेको थियो।

लिम्बुको मंसिर २८ गते हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसपछि अन्य दुई जनाको हत्या गरेका थिए। हत्या भएका श्रेष्ठ भक्तपुर र चौधरी काठमाडौंमा बस्दै आएका थिए । हत्याको कारण आर्थिक कारोबार नै भएको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *