विदेश जाने महिला ७१ प्रतिशत बढे

काठमाडौं। पछिल्लो १० वर्षको अवधिमा विदेशमा अक्सर बस्ने महिलाको संख्या ह्वात्तै बढेको पाइएको छ। २०६८ देखि २०७८ सम्म विदेशमा बस्ने महिलाको संख्या १ लाख ६८ हजार ७ सय तीनले वृद्धि हुँदा पुरुषको भने ७९ हजार २ सय ८६ ले मात्रै बढेको छ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण अनुसार हाल विदेशमा रहेका महिलाको कुल संख्या ४ लाख ६१ हजार ३ छ। १० वर्षअघि यस्तो संख्या २ लाख ३७ हजार ४ सय थियो।

त्यस्तै १० वर्षअघि विदेशमा बस्ने पुरुषको संख्या १६ लाख ८४ हजार २९ थियो भने त्यो संख्यामा सामान्य वृद्धि भएर हाल १७ लाख ६३ हजार ३ सय १५ पुगेको छ। हाल महिला र पुरुष मिलाएर २१ लख ६९ हजार ४ सय ७८ जनसंख्या स्वदेशमा अनुपस्थित रहेको विभागले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने र उतै बस्ने महिलाको संख्या बढ्नुलाई कतिपयले सशक्तीकरणको सकारात्मक प्रभावको रूपमा लिएका छन्। कतिपय विज्ञ भने १० वर्षमा विदेश जाने महिलाको संख्या वृद्धि हुँदैमा उनीहरूको सीप, दक्षता र शिक्षामा वृद्धि भयो भन्न नसकिने बताउँछन्।

कतिपय महिला अधिकारवादी भने स्वदेशमा पुरुषको तुलनामा महिलाको संख्या बढी भए पनि विदेशमा रहने महिलाको संख्या तुलनात्मक रूपमा अझै कम नै रहेको तर्क गर्छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *