काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधिसभा निर्वाचन उम्मेदवार छनोट समितिको संयोजक बनाएको छ ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयारी गरेका आचार्यलाई थप जिम्मेवारी दिएको हो ।
उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा. चन्दा कार्की र राजन गौतम तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन् । रुपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार नै कायम रहने बैठकले निर्णय गरेको छ ।
बैठकले कार्यवाहक सभापति डोलप्रसाद अर्यालबाट प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीबाट प्रस्तुत संगठनात्मक प्रतिवेदन र सहमहान्त्री विपिनकुमार आचार्यबाट प्रस्तुत उम्मेदवार छनोट विधिमा प्राप्त सुझावहरूसहित पारित गर्ने निर्णय गरेको छ ।
पार्टीको प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित वाचापत्र कार्यदलमा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई थप गर्ने निर्णय गरेको छ ।
त्यस्तै, संविधान परिमार्जन कार्यदलको नाम संशोधन गरी ’संविधान एवं संविधानसम्बद्ध कानुन परिमार्जन कार्यदल’ बनाउने निर्णय रास्वपाको छ । उक्त कार्यदलको रिक्त संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सोबिता गौतमलाई दिने निर्णय रास्वपाको छ ।


