मुलुकमा उत्पन्न असाधारण परिस्थितिले शीघ्र उन्मुक्ति प्राप्त गरोस्ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

वडादसैँ २०८२ को शुभकामना दिँदै राष्ट्रपति पौडेलले बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व बढाएको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘हिन्दू धर्मावलम्वीहरूको महान् चाड बडादसैँ, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवं मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गर्न पनि राष्ट्रपतिले जोड दिएका छन् । साथै, तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरेका छन् ।

‘मुलुकमा उत्पन्न सबै प्रकृतिका समस्याहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,] राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *