जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन गर्न रवि लामिछानेको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाएका भन्दै यस्ता आततायीहरुलाई अब कुनै माफी दिन नसकिने बताएका छन् ।

सोमबार राति नक्खु कारागारबाट सचिवालयमार्फत अपील जारी गर्दै सभापति लामिछानेले अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न नसकिने बताएका हुन् ।

उनले प्रश्न गरेका छन्, ‘आफ्नै बिन्दास संसारमा रमाउने उमेरका जेनजीलाई सडकमा आउन कसले बाध्य पार्यो ? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा ? सिपालु शिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि–ताकि गोली हानेर मारे । म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो ।’

उनले भनेका छन्, ‘जेनजी र सिंगो देशलाई मेरो अपील छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न । यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ ।’

उनले कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा देशलाई केही समाधान सुझाउनैपर्छ भन्दै चार वटा सुझाव दिएका छन् ।

१) सकेसम्म छिटो जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन होस् ।

२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् ।

३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।

४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *