एमालेको अन्तरपार्टी निर्देशनः पूर्वराष्ट्रपति सिंगै राष्ट्रको नेता हो, त्यस्तो व्यक्तिलाई एमालेले कार्यकर्ता बनाउनु हुँदैन

काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमालेले मातहतका कमिटीलाई अपानि पठाएको हो ।

अपानि पठाउँदै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंगै राष्ट्रको नेता भएकाले पार्टीको कार्यकर्ता बनाउन नहुने बताएको छ । एमालेले पूर्वराष्ट्रपति भण्डारी पार्टीको अध्यक्ष बने पनि एमालेको कार्यकर्ता बन्ने हुँदा सक्रिय राजनीतिमा आउन नहुने बताएको छ ।

अपानिमा भनिएको छ, ’सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हुँदैन। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन। अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनु हुँदैन। पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्। उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो ।’

त्यसैगरी एमालेले भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया पनि नमिलेको उल्लेख छ । एमालेले अब हुने उपनिर्वाचनमा सचेत बन्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ। रूपन्देही ३ प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएको, मनाङमा सर्वोच्च अदालतको पूर्ण फैसला आएपछि प्रदेशसभाको निर्वाचन हुने सम्भावना रहेको र रिक्त रहेका वडामा पनि यसैवर्ष पुनः चुनाव हुने सम्भावना रहेकोमा त्यसको तयारीमा योजनाबद्ध रूपमा जुट्न अपानिमार्फत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *