काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा विवादको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ । नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गरिएको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् ।
त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ । हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो । यो विषयलाई लिएर केही दिनअघि दुई पक्षबीच झडपसमेत भएको थियो ।
