फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरले चलायो डोजर

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आइतबार डोजर चलाएको छ ।

यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो ।वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाउएर महानगरले करिडोर बनाउने अभियान थालेको हो ।

पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

‘महानगरले यसअघि २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाउने छ’, महानगर प्रमुख आचार्यले भने ।

महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएको छ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ तथा पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइने छ ।

महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन् । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको नापजाँच प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन् । पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नापजाँचपछि एकिन गरिएको खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ सीमास्तम्भ गाडिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *