हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँः महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभई अद्यावधिक गर्न लागेको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत महामन्त्री पौडेलले क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछिे क्रियाशील खारेज नभई अद्यावधिक गर्न लागेको प्रष्टीकरण दिएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु–हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ । अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।‘

उनले विगतमा देखिएका त्रुटी हटाउन यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक गर्न लागेको बताए । उनले भने, ‘विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ । त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु ।’

केही दिनअघि जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको बताएका थिए । नेपाली कांग्रेसले आगामी वैशाख १ गतेदेखि देशभर ‘जरा अभियान’ सुरु गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *