काठमाडौं । २०८२ साल नेपाली क्रिकेटको लागि भने फलदायी वर्ष बन्न सफल भयो । अर्को लोकप्रिय खेल फूटबल नियमित रुपमा विवादमा तानिँदा क्रिकेटले भने लगातार सफलता हासिल गर्न सफल भयो । नेपालले यस वर्ष आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रोपटक सहभागिता जनाउँदा नेपाल क्रिकेट संघ(क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगपनि सफलता पुर्वक आयोजना गर्न सफल भयो । यस्तै नेपाल ब्लाइन्ड महिला क्रिकेटतर्फ विश्वकपको फाइनलमा पुग्दै एतिहासिक उपलब्धि हासिल गर्न सफल भयो । कुनैपनि विश्वकपमा नेपालले पहिलोपटक फाइनल खेलेको थियो ।
टी-२० विश्वकपको कारणलेपनि नेपाली पुरुष टोली टी-२० आईमा व्यस्त बन्यो । नेपालले गत असारमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्यान्ड्स सम्मीलित त्रिकोणात्मक टी-२० सिरिज खेल्दै वर्षको शुरूवात गरेको थियो । उक्त सिरिजमा नेपालले दुई खेल जित्दा दुई खेलमा पराजित भएको थियो ।
त्यसपछि नेपालले आईसीसी पुरुष टी-२० विश्वकप एसिया र इस्ट एसिया पेसिफिक छनोटको तयारीको रुपमा वेस्ट इन्डिजसँग एतिहासिक टी-२० आई सिरिज खेलेको थियो । पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० आई सिरिज खेलेको नेपालले वेस्ट इन्डिजलाई तीन खेलको सिरिजमा २-१ ले हराउँदै सनसनी मच्चाएको थियो ।
उच्च मनोबलमा रहेको नेपालले असोज-कार्तिकमा भएको छनोटको सबै ६ खेल जित्दै उपाधि जितेर लगातार दोस्रोपटक तथा समाग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाएको थियो । यस्तै नेपालले गत माघमा भएको टी-२० विश्वकपमापनि विश्वको ध्यान तान्न सफल भयो । पहिलो खेलमै इंग्ल्याण्डविरुद्ध जित नजिक पुगेरपनि ४ रनको झिनो हार बेहोरेको नेपाल दोस्रो खेलमा भने इटालीसँग १० विकेटले स्तब्ध बनेको थियो । यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको नेपालले चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजि गर्दै विश्वकपको अन्त्य गरेको थियो । जुन विश्वकपमा १२ वर्षपछिको पहिलो जित थियो । यस्तै नेपालले विश्वकप तयारीको लागि भारत, अष्ट्रेलिया र श्रीलंका भ्रमण गरेको थियो । नेपालले २०८२ सालमा १७ टी-२० आई खेल खेल्दा ११ खेलमा जित निकाल्न सफल भयो । जुन ६४.७१ प्रतिशत हो ।
त्यसबीचमा क्यानले मङ्सिरमा सफलता पूर्वक नेपाल प्रिमियर लिग(एनपीएल) आयोजना गरेको थियो । नेपालको इतिहासमै पहिलोपटक फ्लडलाइट र प्याराफिटमा प्रतियोगिता सम्पन्न भएको थियो । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगबाटमात्र क्यानले ४७ करोड ३६ लाख रुपैयाँबढि आम्दानी गरेको थियो । यस्तै ग्रस नाफामात्र ९ करोड २१ लाख रुपियाँ बढि रहेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।
एक दिवसीयमा भने नेपालले सोचेअनुरुप प्रदर्शन गर्न सकेन । नेपालले ८ एकदिवसीय खेल खेल्दा मात्र ३७.५ प्रतिशित जित निकाल्न सक्यो । नेपालले २०८२ सालमा आईसीसी विश्वकप लिग-२ अन्तर्गतका दुई त्रिकोणात्मक सिरिज खेलेको थियो । जेठमा स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मीलित त्रिकोणात्मक सिरिजमा नेपालले तीन खेल जित्दा एक खेल गुमाएको थियो भने गत कार्तिकमा भएको युएई र अमेरिका सम्मीलित सिरिजमा नेपालले सबै चार खेल गुमाएको थियो ।
नेपाल प्रिमियर लिगको चर्चा र विश्वकपमा गरेको प्रदर्शनका कारण नेपाली खेलाडीहरु विदेशी फ्रेन्चाइज टोलीहरुको आँखामा पर्न सफल भए । पहिलोपटक राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित नेपालका ८ खेलाडीहरु बेल्जियममा हुने इयु टी-२० लिगमा खेल्दैछन् । यस्तै उपकप्तान दीपेन्द्र सिंह एरी जारी पाकिस्तानको फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग खेल्ने टोली इस्लामाबाद युनाइटेडमा रहेका छन् । तर आजसम्म उनले खेल्ने मौका भने पाएका छैनन् । नेपाली टोलीका मुख्य स्पिनर सन्दीप लामिछानेलेपनि राजशाही वारियार्सबाट बंगलादेश प्रिमियर खेलेका थिए । उनले चार खेल खेल्दै पाँच विकेट लिएका थिए । उनको टोलीको प्रतियोगिताको उपाधिपनि जितेको थियो ।
महिलातर्फपनि नेपालले यस वर्ष प्रशस्त अन्तराष्ट्रिय खेलहरु खेल्ने मौका पायो । नेपालले एसीसी वुमेन्स एसिया कप राइजिङ स्टार्स, महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरसँगै मलेसियासँग टी-२० सिरिज खेल्ने मौका पायो । नेपालले वैशाखमा आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेको थियो । समूह चरणको चार खेलमा दुई जित, एक हारको नतिजा निकालेको नेपालले सुपर थ्रीमा युएईलाई हराएपनि थाइल्याण्डसँग पराजित भएको थियो । जसबाट नेपालले सुपर थ्रीमा दोस्रो बन्दै ग्लोबल छनोटको लागि टिकट काटेको थियो । नेपालले असोजमा मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो । जसमा नेपाल ३-२ ले विजयी भएको हो ।
त्यसपछि नेपालले घरेलु मैदानमा माघमा आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेलेको थियो । समूह चरणको चार खेलमा मात्र एक जित निकाल्न सक्दा नेपालको अर्को चरण पुग्ने सम्भावना समाप्त भएको थियो । लगत्तै फाल्गुनमा नेपालले एसीसी वुमेन्स एसिया कप राइजिङ स्टार्स खेलेको थियो । भारत र पाकिस्तानको ए टोलीसँग खेल्ने मौका पाएको नेपालले दुवै खेल गुमाएको थियो भने युएईसँगपनि पराजित हुन पुगेको थियो ।
यसअघि सिमित प्रतियोगितामात्र खेल्ने नेपाली महिला टोलीका खेलाडीले यस वर्ष विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता परिक्षण गर्ने मौका पाए । नतिजा आफ्नो पक्षमा पार्न नसकेपनि नेपाली खेलाडीले बलिया र टेस्ट राष्ट्रसँग खेल्दा आफ्नो खेल निखार्ने र अनुभव बटुल्ने मौका पाएका छन् । 
यस्तै दृष्टिविहीन महिला टोलीले विश्वकपको फाइनलसम्म पुग्नु नेपाली महिला टोलीको लागि यस वर्षको सबैभन्दा ठुलो सफलता रह्यो । पहिलोपटक आयोजना भएको दृष्टिविहीन महिला विश्वकपमा नेपालले सहभागितामात्र जनाएन । उपाधिबाट केहि कदममात्र टाढा रह्यो । विश्वकपको फाइनलमा पुगेपनि नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो । नेपालले विश्वकपमा श्रीलंका र अष्ट्रेलियाजस्ता ठुला टोलीलाई पराजित गर्दै आफुलाई विश्वसामू प्रमाणित गरेको थियो ।
यस वर्षपनि क्यान घरेलु प्रतियोगितामा पनि सक्रिय देखियो । लगातार दोस्रो वर्ष क्यानले जय ट्रफी पुरुष इलिट कप सञ्चालन गर्न सफल भयो । सँगै पुरुष प्रधानमन्त्री कप हाल जारी रहेको छ । दुई दिवसीय प्रतियोगिता जय ट्रफीमा ४ टोलीले सहभागिता जनाएका थिए । अब भने ६ टोलीले खेल्ने क्यानले जनाएको छ । मधेशमा जारी प्रधानमन्त्री कपको शीर्ष ६ टोलीले जय ट्रफीमा प्रतिस्पर्धा गर्नेछन् ।




