नयाँ कार्यविधि तयार नभएसम्म आइतबार पनि ओपीडी संचालनको व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाहरूले जनशक्ति अभावका कारण आइतबार ओपीडी सञ्चालन गर्न नसक्ने बताएपछि मन्त्रालयको यस्तो निर्देशन आएको हो । बिदाको कार्यान्वयन स्वास्थ्य संस्थामा पनि हुनुपर्ने माग चिकित्सकका संघसंस्थाले राखेका छन् ।

सरकार स्वास्थ्यकर्मीको विश्राम अधिकारबारे सचेत रहेकाले नयाँ कार्यविधिमार्फत त्यसको सुनिश्चितता हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, सन्तुलित र दिगो बनाउन आवश्यक कार्यविधि यथाशीघ्र कार्यान्वयनमा ल्याउने बताएको छ ।

मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालहरूलाई धन्यवाद व्यक्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार हप्ताको दुई दिन सार्वजनिक बिदा लागू भए पनि बिरामीको हितलाई ध्यानमा राख्दै सञ्चालन गर्ने अस्पताललाई धन्यवाद व्यक्त गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *