काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति पार्टीको समर्थन रहेको जनाएका छन् ।
आइतबार सामाजिक संजालमार्फत विप्लवले सरकारको निर्णयविरुद्धको आन्दोलनलाई सशक्त बनाउन आग्रह गरेका हुन् । उनले यस्तो सोच निरंकुश भएको बताएका छन् ।
उनले भनेका छन्, ‘विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन छ। आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ । सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका बाहक हुन् । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ।’
उनले निरंकुशता लाद्न खोजे सरकारको जरो उखेलिने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएका छन् तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ।’
