अमेरिका–इरान वार्ता स्थगित, मतभेद कायमै

रोयटर्स ।  अमेरिका र इरानबीच पाकिस्तानमा जारी वार्ता हालका लागि स्थगित भएको इरान सरकारले जनाएको छ । ६ हप्तादेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको इस्लामाबादमा भएको छलफलपछि दुवै पक्षबीच केही मतभेद अझै बाँकी रहेको बताइएको छ।

इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढीपछि अमेरिका–इरानबीचको पहिलो प्रत्यक्ष संवाद हो । सन् १९७९ को इस्लामिक क्रान्तिपछि यो सबैभन्दा उच्चस्तरीय भेटवार्ता मानिएको छ। वार्ताको नतिजाले कमजोर बनेको दुई हप्ते युद्धविराम र विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत बोक्ने होर्मुज जलडमरु मार्ग पुनः खुल्ने/नखुल्ने विषयमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

इरान सरकारले सामाजिक सञ्जाल एक्समार्फत १४ घण्टाको छलफलपछि वार्ता टुंगिएको र प्राविधिक टोलीबीच कागजात आदान–प्रदान हुने जनाएको छ। ‘केही मतभेद बाँकी रहे पनि वार्ता जारी रहनेछ,’ भनिएपनि पुनः कहिले सुरु हुने भन्ने खुलाइएको छैन।

मध्यस्थ पाकिस्तानका स्रोतका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकोफ र जेरेड कुशनरले इरानी सभामुख मोहम्मद बाकेर कालीबाफ र विदेशमन्त्री अब्बास अराघचीसँग करिब दुई घण्टा छलफल गरेका थिए । उता, ट्रम्प प्रशासनले वार्ताबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

इरानी प्रतिनिधिमण्डल युद्धमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहितका व्यक्तिहरूप्रति शोक व्यक्त गर्दै कालो पोशाकमा इस्लामाबाद पुगेको थियो। अमेरिकी बमबारीमा विद्यालयमा ज्यान गुमाएका विद्यार्थीका सामग्रीसमेत साथमा ल्याइएको इरानले जनाएको छ। उक्त आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालयले छानबिन जारी रहेको बताएको छ ।

वार्ताको पहिलो चरणमा दुवै पक्षबीच वातावरण उतार–चढावपूर्ण रहेको पाकिस्तानी स्रोतहरूले जनाएका छन्। वार्तालाई मध्यनजर गर्दै इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको थियो, जहाँ हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *