दमौली (तनहुँ) । जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर नेपालको पहिलो घरबास (होमस्टे) सर्किट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा अघि सारिएको ‘बन्दीपुर-केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ढाँचाका रूपमा हेरिएको छ ।
सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणसँग रमाउने समुदायमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
कुनै समय व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि मृत सहरका रूपमा परिचित थियो । अहिले बन्दीपुर पुनः जीवन पाउँदै खुला, जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा स्थापित भएको छ । ‘पहाडकी रानी’ उपनामले चिनिने बन्दीपुरले अन्तरराष्ट्रियस्तरसम्म आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । अब होमस्टेमार्फत यहाँको पर्यटन प्रवर्द्धनका लागि थप काम गर्न खोजिएको थापाले बताए ।
बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतापछि गाउँपालिकाले सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सोबमोजिम विविध प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्दै नयाँ गन्तव्यको विकास गर्ने क्रममा यो सर्किटलाई महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको उनले उल्लेख गरे ।
करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटमा १४ वटा होमस्टे र २० भन्दा बढी गाउँ समेटिनेछन् । गुरुङ, मगर, नेवारसँगै क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरकफरक सांस्कृतिक अनुभव प्रदान गर्नेछन् । बन्दीपुर गाउँपालिकाका अधिकांश वडाका साथै व्यास नगरपालिकाको वडा नम्बर १४ यसमा समेटिएको छ । थापाका अनुसार यस सर्किटले होमस्टे सशक्तीकरणसँगै पर्यटनमार्फत ग्रामीण समुदायको आम्दानी वृद्धिमा टेवा पुग्नेछ ।
यस सर्किट विकासका लागि तीन चरणमा कार्यक्रम अघि बढाइएको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले संयुक्त रूपमा क्षेत्रको अध्ययन, अवलोकन तथा प्रत्येक होमस्टे गाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
त्यस्तै नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा आगामी वैशाख १८ र १९ गते आयोजना हुने गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ मार्फत सर्किटको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गरिनेछ ।
ग्रामीण पर्यटनलाई थप सहज बनाउन गाउँपालिकाले सफारी जीप सेवा पनि सञ्चालनमा ल्याइसकेको छ, जसले गाउँगाउँमा पर्यटकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिकाका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले बताए ।
बन्दीपुर-केशवटार होमस्टे सर्किट नेपालकै पहिलो नमूना परियोजनाका रूपमा विकास गर्न खोजिएको र यसले विश्वसामु नेपाली ग्रामीण पर्यटनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताए । उनले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई जोगाउँदै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको बताउँदै यस सर्किटले दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यसमा बन्दीपुर-२ को मोहोरिया, रामकोट, व्यास-१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर-६ धरमपानी, व्यास-१२ कमलाबारी, बन्दीपुर-५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् ।
