काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पारेका हुन्।
‘संविधानभित्र रहेर सरकारले गर्ने राम्रा कामको सदैव समर्थन गर्छौँ, संविधान मिच्ने, जनताको हकअधिकार खोस्ने तथा राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ’, प्रचण्डले भने ।
उनले विद्यार्थी तथा कर्मचारीको ट्रेड युनियनको हकअधिकारबारे उठाइएका सवाललाई गम्भीररूपमा लिनुपर्ने बताए ।
संयोजक प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट जुन शक्ति विजयी भए पनि सबैको जित हुने बताए ।
‘अर्को पार्टीले जितेपनि हामीले हारेको भन्न मिल्दैन । जुनसुकै पार्टीबाट आए पनि त्यो संविधान, गणतन्त्र, समावेशिताको जित हो’, उनले भने ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले लोकतन्त्रको रक्षार्थ आफ्नो पार्टी बलिदान गर्न तयार रहेको बताए । उनले सामाजिक विभेद अन्त्य तथा जनअधिकार स्थापित गर्ने सवालमा अग्रपङ्क्तिमा उभिन महिला सङ्घलाई निर्देशन दिए ।
