हालको निराशालाई सङ्कल्पमा बदल्नेछौँः महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत र पुनर्गठित गरेर अगाडि बढ्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष सङ्गठन कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उनले जनताको बहुदलीय जनवादका माध्यमबाट आजका चुनौती सामाना गर्दै अगाडि बढ्ने बताएका हुन् ।

महासचिव पोखरेलले भने,’हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौँ । सत्ता र केन्द्रमुखी भएर जनताबीचमा पुग्न नसक्दा कम्युनिष्ट आन्दोलन पछाडि परेकाले अबको पाँच वर्ष प्रतिपक्षमा रहेर जनतासँग जोडिने छौँ ।’

उनले यसपटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

‘विसं २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौँ । यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौँ’, महासचिव पोखरेलको भनाइ थियो ।

पार्टी सचिव पद्मा अर्यालले फेरि जनतासँग जोडेर पार्टीलाई माथि उठाइने बताइन् । सम्पर्क विशेष सङ्गठन कमिटीका अध्यक्ष अशोक ठकुरीले पार्टीलाई फेरि एकीकृत गरेर लैजान विशेष भूमिका निर्बाह गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *