काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि जाने नेपालीले वैदेशिक रोजगार विभागबाट जारी भएका श्रम स्वीकृति र राहदानीलगायत न्यूनतम आधारभूत कागजातबाहेक अध्यागमन कार्यालयमा थप कुनै कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने बताएको छ ।
वैदेशिक रोजगार विभागबाट जारी सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले बुझाउनुपर्ने कागजातका विषयमा अन्योल सिर्जना गरेको भन्दै विभागले यस्तो बताएको हो ।
विभागले भनेको छ, ‘वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।’
विभागले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकका सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश प्रस्थान गर्न सकिने बताएको छ ।

