काठमाडौं । सोलुदुधकुण्ड नगरपालिका वडा नं २ मा अवस्थित ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ (सेर्लो गोन्पा) को आयोजनामा काठमाडौंको बौद्धस्थित शेचेन गेस्ट हाउस परिसरमा शेर्पा समुदायका महान् विद्वान् तथा इतिहासकार खेन्पो साङ्गे तेन्जीन रिन्पोछेका कृतिहरूको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
परम पूजनीय क्याब्जे शेचेन राख्ज्याम रिन्पोछेको प्रमुख आतिथ्यता तथा सेर्लो गोन्पाका प्रमुख परम श्रद्धेय टुल्कु पेमा थारछिन रिन्पोछेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा खेन्पो साङ्गे तेन्जीन रिन्पोछेद्वारा लिखित महत्वपूर्ण दुई वटा कृतिहरू सार्वजनिक गरिएको हो ।
चाडा फाउन्डेशनको सहयोगमा ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ (सेर्लो गोन्पा) ले रिन्पोछेका कृतिहरू संकलन तथा सम्पादन गरी पुस्तकका रूपमा प्रकाशन गर्ने योजना अन्तर्गत यस वर्ष शेर्पा वंशावली र इतिहास सम्बन्धी दुई वटा पुस्तक विमोचन गरिएको हो । बाँकी कृतिहरू वार्षिक रूपमा क्रमशः प्रकाशन गर्ने आयोजकले जनाएको छ ।
खेन्पो साङ्गे तेन्जीन रिन्पोछेले करिब १२ वर्ष तिब्बतका विभिन्न गोन्पाहरूमा बौद्ध धर्म, दर्शन तथा साहित्यको गहन अध्ययन गरेका थिए । अध्ययनपछि आफ्नै गाउँ फर्केर उनले गोन्पा स्थापना गरी विद्यार्थीहरूलाई अध्यापन गराउनुका साथै भोट व्याकरण, शेर्पा वंशावली, शेर्पाहरूको धार्मिक इतिहास तथा बौद्ध शास्त्रका टीकाहरू लगायतका विषयमा दर्जनौं महत्वपूर्ण ग्रन्थहरू लेखेका थिए ।
कार्यक्रममा विभिन्न रिन्पोछे, टुल्कु, खेन्पो, लोपोनहरूको उपस्थिति रहेको थियो । साथै नेपाल शेर्पा संघका प्रतिनिधि, नेपाल शेर्पा महिला संघका प्रतिनिधि, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष, हिमालयन शेर्पा बौद्ध संस्कृति संरक्षण समाजका प्रतिनिधि, विभिन्न गोन्पा तथा शेर्पा संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
खेन्पो साङ्गे तेन्जीन रिन्पोछेको संक्षिप्त जीवनी
बौद्ध सूत्र र तन्त्र तथा विविध विद्यामा अत्यन्त निपुर्ण महान् गुरु खेन्पो साङ्ग्ये तेन्जीन रिन्पोछेको जन्म सन् १९२४ मा भोट चन्द्र पात्रो अनुसार सातौँ महिनाको १० गते सोलुदुधकुण्ड नगरपालिका–२, टाक्टोर गाउँमा भएको थियो । दावा तेन्पा शेर्पा र ङिमा पुटी शेर्पाका सुपुत्रकाे जन्मेका उनकाे बाल्यकालकाे नाम दावा तेन्जीन शेर्पा थियो । बाल्यकालदेखि नै अत्यन्त मेधावी उनी पिताबाट भोट भाषा सिक्दै उनले छिट्टै लेख्न र पढ्नमा दक्षता हासिल गरे । मात्र आठ वर्षको उमेरमा उचेन लिपिमा प्रार्थना तथा सदाचारसम्बन्धी लेखहरू लेख्न सक्ने भएका उनी एघार वर्षको उमेरदेखि नेपाली भाषा पनि अध्ययन गरी त्यसमा समेत निपुर्ण बने ।
सत्र वर्षको उमेरमा उनले सोलुका लामा योन्तेन ग्याछोबाट अभिषेक, आगम तथा धार्मिक शिक्षा लिए । बीस वर्षको उमेरमा तेङ्गबुछे गोन्पाका धर्मगुरु तोग्देन छुल्ठीमको सान्निध्यमा रहँदै उनले सम्भोट उमेद् लिपि, व्याकरण, ज्योतिष तथा अन्य शास्त्रहरूको अध्ययन गरे ।
सन् १९४१ मा, २१ वर्षको उमेरमा उनी तिब्बत गए । त्यहाँ चिब्री छुजाङका लामा साङ्ग्ये छोफेलबाट श्रामणेर (गेछुल) को दीक्षा ग्रहण गरी उनको नाम ‘साङ्ग्ये दावा’ राखियो । त्यसपछि उनले डेपुङ, छम्दो, खामदेगे, पाल्पुङ, जोङ्सार, जोग्छेन, शेचेन आदि प्रसिद्ध गोन्पाहरूमा विभिन्न विद्वान् गुरु, खेन्पोहरूबाट भोट व्याकरण, काव्य, तर्कशास्त्र, ज्योतिष, चिकित्सा तथा विशेषगरी बौद्ध दर्शनका माध्यमिक, प्रज्ञापारमिता, विनय, अभिधर्म र तन्त्रमा गहन अध्ययन गरी पूर्ण दक्षता हासिल गरे ।
उनले ज्यम्गोन लोटे थायेका शिष्य डिमे लेग्पी लोटोबाट बुद्ध वचनका आगम, रत्ननिधि लगायतका गूढ शिक्षाहरू तथा विभिन्न महान् गुरुहरूबाट तान्त्रिक दीक्षा र उपदेशहरू प्राप्त गरे । ती शिक्षाहरूलाई उनले ध्यान, साधना र आध्यात्मिक अभ्यासमा उतारे । २९ वर्षको उमेरमा मिन्लिङ रिन्पोछे ङवाङ छोडकबाट भिक्षु दीक्षा ग्रहण गरी गुह्य तन्त्रसम्बन्धी उच्च शिक्षा पनि प्राप्त गर्नुभइ ३३ वर्षको उमेरमा उनी आफ्नै जन्मभूमि फर्किए ।
सन् १९५७ मा उनले धर्म प्रवर्द्धनका उद्देश्यले “ङग्युर सेर्गोन लुङ रिग शेडुप लिङ” नामक गोन्पा स्थापना गरे। ३५ वर्षको उमेरमा विद्यालय स्थापना गरी सयौँ विद्यार्थीहरूलाई बौद्ध धर्म, दर्शन तथा भाषा शिक्षा प्रदान गरे । भोट व्याकरण, शेर्पा वंशावली, शेर्पाहरूको धार्मिक इतिहास, बौद्ध शास्त्रका टीकाहरू लगायत विभिन्न विषयमा महत्वपूर्ण ग्रन्थहरू पनि रचना गरेका उनले उनकाे सम्पूर्ण जीवन धर्म तथा समस्त प्राणीहरूको कल्याणमा समर्पित गरे । अन्ततः सन् १९९० जुलाई १२, बिहीबारका दिन ६७ वर्षको उमेरमा उनले महापरिनिर्वाण प्राप्त गरे ।
उनको महापरिनिर्वाण पश्चात् उनका प्रमुख शिष्य परम श्रद्धेय टुल्कु पेमा थारछिन रिन्पोछेले गोन्पाको व्यवस्थापन सम्हाले । उनको नेतृत्वमा गोन्पामा विद्यार्थीहरूका लागि आवास, ध्यानकक्ष, पुस्तकालय लगायतका संरचनाहरू निर्माण गरी निःशुल्क अध्ययन, अध्यापनको व्यवस्था गरियाे । साथै, विभिन्न महान् रिन्पोछेहरूलाई आमन्त्रण गरी विद्यार्थी तथा स्थानीय श्रद्धालुहरूलाई आगम, अभिषेक, शिक्षा र दीक्षा प्रदान गर्ने कार्य निरन्तर जारी राखिएको छ । सन् २०१५ को विनाशकारी भूकम्पले गोन्पामा ठूलो क्षति पुर्याए पनि टुल्कु रिन्पोछेको पहलमा यसको पुनर्निर्माण सम्पन्न गरिएको छ । यसरी खेन्पो साङ्ग्ये तेन्जीन रिन्पोछेको धर्मसेवा र शिक्षाको परम्परा आज पनि निरन्तर रूपमा अघि बढिरहेको छ ।





