काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले फागुन २१ गते तोकिएकै समयमा निर्वाचन भएको र निष्पक्षरूपमा निर्वाचन भएको बताए ।
उनले अन्तरिम सरकारको कार्यभार चुनाव गराउनमात्र रहेको भन्दै सुशासनका निम्ति गरेका कामप्रति सुशीला कार्की नेतृत्वको सरकारप्रति आभार व्यक्त गरे ।
उनले कार्की नेतृत्वको अन्तरिम सरकारले मुलुकलाई लयमा फर्काएको बताए । उनले निर्वाचनबाट होनाहार युवासहितको जनप्रतिनिधि निर्वाचित भएर नयाँ सरकार गठन भई काम शुरु गरिसकेको समेत बताए ।
उनले निर्वाचनले संघीय गणतन्त्रका आधारस्तम्भ संस्थागत भएको भन्दै अब त्यसका आधारमा जनकल्याणकारी कार्य गर्नुपर्ने बताए । त्यसका लागि संसद्ले जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।
