अमेरिका–इरानलाई वार्ताअघि संयमता अपनाउन पाकिस्तानको आग्रह

इस्लामाबाद । पाकिस्तानले बिहीबार मध्यपूर्व युद्ध रोक्ने ‘संयमता’ का लागि सम्बन्धित पक्षको प्रशंसा गरेको छ ।

इस्लामाबादले इरान र संयुक्त राज्य अमेरिकाबीच अपेक्षित वार्ता आयोजना गर्न तयार भएको बेला लेबनानमा जारी इजरायली आक्रमण हुनु दुःखद् भएको भन्दै यसको निन्दा गरेको छ।

वासिङ्टन र तेहरान दुवैले पाकिस्तानको मध्यस्थतामा भएको शान्ति वार्तामा सहभागी हुने पुष्टि गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरसँग भेटवार्ता गरी सबै पक्षले अपनाएको संयमताको प्रशंसा गरेको प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उहाँहरूले अहिलेसम्म हासिल गरेको तनाव न्यूनीकरणप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका र इरानी वार्ताकारबीच वार्ताका लागि दुई हप्ताको युद्धविराम गर्न सहमत भएका थिए तर वासिङ्टनको सहयोगी इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ ।

इरानले लेबनान युद्धविरामको एक महत्वपूर्ण हिस्सा भएको बताउँदै आएको छ र इजरायली आक्रमणले युद्धविरामको उल्लङ्घन गरेको दाबी गरेको छ।

ह्वाइट हाउसले यो सप्ताहन्तमा इस्लामावादमा मध्यपूर्व युद्धको बारेमा अमेरिकी वार्ताको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने बताएको छ।

पाकिस्तानका लागि इरानका राजदूतले सामाजिक सञ्जालमा एक इरानी प्रतिनिधिमण्डल बिहीबार राति इस्लामावाद आइपुग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *