-रञ्जनकुमार दाहाल ।
विचार परिवर्तन, संस्था परिवर्तन, व्यवहार परिवर्तन, यी तीनवटा कुरा मिलेर मात्रै देश बन्छ भनेर हामीले धेरै पटक सुनेका छौं। तर कहिलेकाहीँ लाग्छ, हामीले ३६ वर्षमा दुईवटा त गर्यौं, विचार र संस्था परिवर्तन । तर सबैभन्दा गाह्रो, तर सबैभन्दा जरुरी, व्यवहार परिवर्तन गर्न सकेनौं । नेता बदलियौं, व्यवस्था बदल्यौँ, संविधान बदल्योँ तर हाम्रो सोच्ने तरिका, काम गर्ने शैली, र व्यवहार ? त्यो त उहीँ पुरानै ढर्रामा अड्किएको छ। जनताले पञ्चायतकै जस्तै चाकडी र भनसुन बाकी राखे, त्यहीँबाट डरलाग्दो बिचौलियाको जन्म भयो। बिचौलियाले कर्मचारीलाई कसरी ‘मेनेज’ गर्ने भन्ने कला विकसित गर्यो । अनि चप्पलमा हिँड्ने नेतालाई एकाएक करोडौंको खेलमा कसरी बस्ने भन्ने पनि सिकायो । यसरी बिस्तारै नाता, कृपा र पैसामा आधारित राज्य संयन्त्र बन्यो, जुन आज हामीले ३६ वर्ष देखि भोगिरहेका छौं।
आज नयाँ सरकार बनेको १० दिनमै देखिएको कोलाहल, असन्तोष र आरोप–प्रत्यारोप कुनै आकस्मिक घटना होइन, यो त त्यहीँ व्यवहारको परिणाम हो जुन हामीले वर्षौंदेखि हुर्कायौं। साँचो कुरा के हो भने व्यवहार परिवर्तन गर्न सबैभन्दा गाह्रो हुन्छ र यसको एउटा ज्वलन्त उदाहरण हाम्रो मिडिया हो । ३६ वर्षको राजनीतिक संस्कारले गाँजिएको मिडिया अझै पनि त्यहीँ बाटोमा हिंड्न खोज्दैछ। जस्तै डिजिटल नेपालको लागि किन र कसरी विश्व बैकबाट ऋण लिइयो भन्ने विषयमा गहिरो समाचार पटक्कै छापिएन, तर कसैको व्यक्तिगत विषयमा भने ठूला अक्षरमा फ्रन्ट पेजमा छापिदैछ।
कहिलेकाहीँ त यस्तो लाग्छ, मिडिया सूचना दिने माध्यम होइन, ध्यान भंग गर्ने माध्यम पो बन्दै गएको हो कि ? विडम्बना के भने, मिडियाले नै जनतालाई सचेत, जिम्मेवार नागरिक बनाउन सहयोग गर्नुपर्ने हो । तर यहीँ ठाउँमा हामी चुकिरहेका छौं। नेपाली जनता कहिलेकाहीँ मिडियाबाट सुसूचित भन्दा बढी भ्रमित भइरहेका छन्। खुसीको कुरा चाहिँ सामाजिक सञ्जालले केही हदसम्म सन्तुलन ल्याएको छ। तर सबै कुरा एकतर्फी छैन। तर यहाँ पनि अर्को चुनौती छ, अधुरा तथ्य, भ्रामक विश्लेषण, विदेशी षडयन्त्र र ‘लुसिफर’ भन्दै सनसनीखेज बनाईएका युट्युब सामग्रीहरूले फेरि अर्कै किसिमको भ्रम फैलाइरहेका छन्।
अन्त्यमा कुरा धेरै सरल छ—
देश बदल्न कानून मात्र होइन, हामी बदलिनुपर्छ।
संस्था मात्र होइन, नेपाली संस्कार बदलिनुपर्छ।
अनि विचार मात्र होइन, व्यवहार बदलिनुपर्छ।
नत्र, हामी फेरि अर्को ३६ वर्ष यहीँ घुमिरहनेछौं।
