वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
वीरगञ्जको नारायणी रङ्गशालामा बुधबार भएको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई डकवर्थ लुइस (डिएलएस मेथड)को आधारमा १८ रनले पराजित गरेको हो ।
सुरुआतमा ब्याटिङ गरेको मधेस प्रदेशले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनायो । मधेस प्रदेशको तर्फबाट मयन यादवले ४३ रन र विशाल सुसलिङले ४० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका अपराजित पौडेल र सुवास भण्डारीले तीन–तीन विकेट लिए ।
जबाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेशले २२ ओभरमा पाँच विकेटको क्षतिमा ८० रन बनायो । गण्डकी प्रदेशले ब्याटिङ गर्दा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस मेथडबाट गरिएको हो । गण्डकी प्रदेशका अर्जुन कुमालले ४९ रन र दिपक डुम्रेले १३ रन बनाए ।
बलिङतर्फ मधेस प्रदेशका विशाल पटेल र मोहम्मद आदिल आलमले एक–एक विकेट लिए । आजको खेलमा मधेस प्रदेशका विशाल सुसलिङ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रू १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
