एजेन्सी । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको पहिलो लेगमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ । मंगलबार राति भएको पहिलो लेगमा रियल म्याड्रिडलाई २-१ गोलले हराउँदै बायर्नले सेमिफाइनलको बाटो केहि सहज बनाएको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा बायर्नलाई जित दिलाउन लुइस डियाज र ह्यारी केनले समान एक/एक गोल गरे । म्याड्रिडको लागि किलियन एम्बाप्पेले एक गोल फर्काए । खेलको ४१ औँ मिनेटमा डियाजले गोल गर्दै बायर्नलाई शुरूवाती अग्रता दिलाएका थिए । ४६ औँ मिनेटमा केनले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
७४ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बायर्न २-१ गोलले विजयी भएको हो । अब दुई टोलीबीचको दोस्रो लेग १६ अप्रिलमा हुनेछ ।
गएरातिनै भएको अर्को खेलमा आर्सनलले स्पोर्टिङ सिपीलाई १-० गोलले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन काइ हाभेर्ट्जले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका हुन् ।
