तेहरान । इरानका अधिकारीहरूले मङ्गलबार अमेरिका–इजरायलद्वारा गरिएका हवाई आक्रमणका क्रममा देशका महत्वपूर्ण पूर्वाधारहरूमा क्षति पुगेको बताएका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार, पवित्र शहर कुम नजिकको एक पुल तथा केन्द्रीय शहर काशानमा रहेको रेलमार्गसहितको अर्को पुलमा आक्रमण गरिएको छ ।
काशानमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यो जानकारी क्षेत्रीय सुरक्षा अधिकारी अकबर सालेहीलाई उद्धृत गर्दै इरानको आईआरएनए समाचार एजेन्सीले दिएको हो ।
उत्तरी इरानमा रहेको प्रमुख राजमार्ग पनि प्रभावित भएको छ । तब्रिज शहरलाई तेहरानसँग जोड्ने उक्त राजमार्गमा आक्रमण भएपछि करिब ९० किलोमिटर दूरीमा यातायात अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।
इरानको रिभोलुसनरी गाड्र्ससँग सम्बन्धित एक टेलिग्राम च्यानलका अनुसार, आक्रमण ओभरपास पुलमा लक्षित गरिएको थियो ।
तेहरान नजिकको कराज क्षेत्रमा रेलमार्गमा पनि आक्रमण भएको मिजान समाचार एजेन्सीले जनाएको छ । सार्वजनिक गरिएका तस्बिरहरूमा उद्धारकर्मीहरूले घाइतेलाई स्ट्रेचरमा लैजाँदै गरेको देखिन्छ ।
इजरायलले रेलमार्ग प्रयोग नगर्न चेतावनी दिएपछि मङ्गलबार इरानको दोस्रो ठूलो शहर मशहदतर्फ जाने र आउने सबै रेल सेवा रद्द गरिएको छ ।
आईआरएनए समाचार एजेन्सीका अनुसार, कराज र फर्दिस क्षेत्रमा विद्युत् प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि आंशिक विद्युत् अवरोध भएको छ ।
यसैबीच, इजरायली सेनाले ‘पूर्वाधार लक्षित व्यापक आक्रमण’ सम्पन्न गरेको पुष्टि गरेको छ, तर कुन–कुन स्थानमा आक्रमण गरिएको भन्ने विवरण दिएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए । उनले ‘सबै कुरा ध्वस्त पार्ने र तेल नियन्त्रणमा लिने’ सम्भावनाबारे पनि विचार गरिरहेको बताए ।
