काठमाडौँ । प्रहरीले रुपन्देहीमा लागु औषध कारोबारीमा संलग्न तीन जनालाई गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका(२ खुरहुरियाका विशाल यादव, भारतको महाराजन्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेका प्रहरीले जनाएको छ ।
सोमबार साँझ साढे सात बजेको समयमा रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना भारतीय नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।
लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीलाई ढुंगा प्रहार गरेपछि एक प्रहरी घाइते भएका थिए । त्यसक्रममा गोली प्रहार गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिएका छन् । उनीहरुको साथबाट प्रहरीले लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल फेला पारेको जनाएको छ । बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
