गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

देवदह (रुपन्देही) । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका हुन् । सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरूले विमानस्थल सञ्चालन गर्न सङ्घीय सरकारसँग आग्रह गरेका हुन् ।

समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए  । उनले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान् गौतमबुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गरे ।

लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको उनको भनाइ छ । “विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्‍याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ”, उनले भने । नगरप्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।

नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी–व्यवसायी धरासायी अवस्थामा पुगेको बताए । उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गरे । सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्षसमेत रहेका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारकोतर्फबाट पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *