काठमाडौँ । नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा जापानमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।
अप्रिल २ देखि ५ तारिखसम्म जापानको टोकियो र ओसाकामा नेपाललाई वर्षेभरि घुम्न मिल्ने पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरिएको हो । पर्यटन प्रवर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुर्याउने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उक्त कार्यक्रममार्फत नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्य लिइएको छ । टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै त्यहाँस्थित नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षैभरि घुम्न मिल्ने गन्तव्यका रूपमा उजागर गरेकी थिइन् ।
नेपाल वायुसेवा निगमले जापान–नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै जापानको नेपालसँगको हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो । कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । बोर्डको उक्त पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तरराष्ट्रिय साझेदारी सुदृढीकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा व्यवसायीको छ ।
